नेकपा एमाले अध्यक्ष केपी ओलीले भक्तपुरमा आयोजित कार्यक्रममा वर्तमान सरकार जनप्रतिनिधित्वविहीन र संवैधानिक प्रक्रिया नपुगेको भन्दै कडा आलोचना गरे।
काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीबार गुन्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कसैले नछानेको भएकाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क थियो । उनले सरकारले आफूलाई काठमाडौँ उपत्यका छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए । अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न पनि सचेत गराए ।
उनले भने, 'यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको हो थाहा छैन । कसैले छानेको सरकार होइन यो । उनीहरू एउटा खास उद्देश्यले काम गरिरहेका छन् । मेरो राहदानी रोक्का गर्ने? अर्को तमासा के गर्नु भयो भने काठमाडौँ उपत्यका — यो डाँडो काटेर बाहिर जान नपाउने! केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्लोपट्टि हेर्न पाइने किन नपाइने? त्यो पनि थाहा छैन । पानी–ढलको सिमाना वा! यो तमासा नभए सडक तमासा भने के हो? सुशीला कार्कीको डरले केपी ओली भाग्छ? के सोचेको ? अहिलेको गृहमन्त्रीको त मैले नाम पनि सुनेको थिइनँ । गृहमन्त्री बाबुलाई धेरै नउज्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।'
अध्यक्ष ओलीले सरकार संवैधानिक बाटोबाट नबनेको समेत दोहोर्याए ।
