आइतबार एमालेको सचिवालय बैठक बस्दै, प्रश्नको घेरामा ओली

जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने ।

आश्विन १२, २०८२

गंगा बीसी

UML secretariat meeting on Sunday, Oli under question

काठमाडौँ — एमालेको आइतबार बस्ने केन्द्रीय सचिवालय बैठकमा जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने भएको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको बैठक बस्न लागेको हो । बैठक ओली निवास भक्तपुरको गुन्डुमा बस्नेछ ।

एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेता जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा देखिएका छन् । तर ओलीले भने जेन–जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मा लिन अस्वीकार गर्दै आएका छन् ।

२३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनमा ७४ को मृत्यु भएको थियो भने दुई हजार बढी घाइते भएका थिए । जेन–जी आन्दोलनमा मानवीय क्षति हुनुमा ओलीले घुसपैठ भएको दाबी गरेका छन् । जेन–जी आन्दोलनपछि ३ असोजमा पहिलो पटक धारणा सार्वजनिक गर्दै ओली सरकारले ‘ताकीताकी’ गोली चलाउने आदेश नदिएको दाबी गरेका थिए ।

‘जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन,’ ओलीले भनेका थिए, ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ ।’

जेन–जी आन्दोलनको गम्भीर समीक्षा हुनुपर्ने एमालेभित्र माग छ । जेन–जी आन्दोलनप्रति सरकारको बेवास्ताका कारण राजनीतिक संकट आएको एमालेकै केही नेताको विश्लेषण छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा हुने र आगामी कार्यक्रम तय हुने बताए ।

‘हामी पछिल्लो अवस्थाबारे सबै कोणबाट विश्लेषण गर्छौं । आउने दिनमा कसरी जाने छलफल हुनेछ,’ उनले एमालेको नेतृत्व पुनर्गठन हुनेबारे के हुन्छ भन्ने प्रश्नमा भने, ‘सरकारमा भएका बेलाको कामको समीक्षा गर्दै पार्टीभित्र र बाहिर उठेका प्रश्नको विश्लेषण गर्छौं ।’ उनले पछिल्लो प्रदर्शनमा देश, पार्टी, जनतालाई क्षति पुगेको विषयमा आवश्यक निर्णय गर्नुपर्ने बताए । ‘पार्टीभित्र गर्नुपर्ने छलफल गर्नेछौं । आवश्यक सबै कुरा गर्छौं,’ उनले भने ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जेन–जी आन्दोलनपछि बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाबारे गम्भीर समीक्षा गरी आवश्यक निर्णय गर्ने बताए । ‘यतिबेला राजनीतिक अवस्था र गर्नुपर्ने कामबारे गम्भीर समीक्षा गर्नुपर्नेछ । पार्टी दह्रोसँग उठेर अघि जानुपर्नेछ,’ उनले भने ।

जेन–जी आन्दोलन र त्यसको अर्को दिन भएको हिंसात्मक प्रदर्शनपछि एमालेभित्र उकुसमुकुस र सन्नाटा थियो । सेनाको ब्यारेकबाट १० दिनपछि गुन्डु सरेका ओलीले उत्पन्न राजनीतिक अवस्थाबारे नेताहरूसँग ब्रिफिङ लिएका थिए । सचिवालयमा रहेका नेताहरूले पार्टीको बैठक बोलाई आवश्यक निर्णय गर्नुपर्ने सुझाव दिएका थिए ।

‘एमाले नेतृत्वमा भएको सरकारका बेला जेन–जी आन्दोलनमा भएको ठूलो मानवीय क्षतिप्रति क्षमा माग्नुपर्छ । कहाँ कमजोरी भयो ? त्यसको समीक्षा गर्न बैठक बोलाउनुपर्छ,’ नेताहरूको सुझाव थियो । तर ओलीले जेन–जी आन्दोलनमा भएको क्षतिमा आफू जिम्मेवार नभएको बताउँदै आएका छन् ।

शनिबार दसैंको मुखमा गुन्डुमा आयोजित सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका ओलीले जेन–जी आन्दोलनमा क्षति नहोस् भनेर निर्देशन दिए पनि स्थिति आफ्नो हातभन्दा बाहिर गएको बताए । ‘मेरो हातमा केही रहेन भन्ने थाहा पाएपछि राजीनामा दिएँ । त्यसपछि आगजनी र तोडफोड भयो । अनि केपी ओलीमाथि प्रहार ?’ उनले भने, ‘प्रदर्शनकारीको टाउकोमा कसरी गोली लाग्यो मैले सोधेको थिएँ । अप्रिय स्थिति नहोस् भनेको भन्यै गरें । अनि केपी ओली दोषी भन्ने ?’

उनले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने पनि जनाए । सरकार संवैधानिक बाटोबाट नबनेको आरोपसमेत लगाए । ‘यो सरकार जनताको अभिमतबाट बनेको होइन, तोडफोड र आगजनीबाट बनेको हो,’ उनको आरोप थियो । संवैधानिक मूलधारमा ल्याएर मुलुकमा शान्ति ल्याउने दाबी उनको थियो । ‘शान्ति र सुशासन फर्काउँछौं,’ ओलीले भने । उनले आफ्नो सुझावका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक सरकार गठनका लागि कदम चालेको उल्लेख गरे ।

जेन–जी आन्दोलनमा क्षति हुनुमा आफूले कुनै षड्यन्त्र नगरेको भन्दै उनले थपे, ‘यो सरकारले मैले बोलेका कुरा रेकर्ड गरेर बाहिर ल्याओस् । हिम्मतका साथ प्रकाशित गरोस् । मैले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, बाहिर ल्याओस् ।’ मानवीय क्षति, आगजनी र तोडफोडको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नवगठित आयोगलाई उनले आग्रह गरे ।

उनले अहिले आफूलाई आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको गुनासो गरे । ‘अहिले सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर लोकेट गरेर हमला गर्न जाऔं भनेर तोकिएको छ, सरकार के हेरेर बसेको छ ? के गर्दै छ ?’ उनले भने, ‘सरकार अहिले सुविधा फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा लाउँछु भनेर धाक लगाएर बसेको छ । सुरक्षा दिनुपर्छ कि पर्दैन ?’

गंगा

Link copied successfully