कांग्रेसको नियमित महाधिवेशन नै मंसिरमा हुनुपर्छ : शाही

जेन-जी आन्दोलनपछि नयाँ जनमत र युवा पुस्ताको चासो फरक भएकाले नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नु नै सबैभन्दा उपयुक्त हुने उनको भनाइ छ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

The regular convention of the Congress should be in November: Shahi

काठमाडौँ — नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको नियमित महाधिवेशन नै मंसिरमा हुनुपर्ने माग गरेका छन्। सभापति शेरबहादुर देउवा तत्काल नेतृत्वबाट अलग हुन तयार नभइरहेको, र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नै विशेष महाधिवेशनको पक्षमा खुलिरहेका बेला नेता शाहीले भने नियमित महाधिवेशन नै मंसिरमा हुनुपर्ने बताएका हुन्।

'विधानबमोजिम केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हो। त्यसैले विशेष महाधिवेशन होइन, अहिले नियमित महाधिवेशन नै हुनुपर्छ,' सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, 'यसका लागि अहिलेको केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुहुन्छ।'

उनले जेन-जी आन्दोलनपछि नयाँ जनमत र युवा पुस्ताको चासो फरक भएकाले नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नु नै सबैभन्दा उपयुक्त हुने बताए । ‘अहिले विशेष महाधिवेशन भनेर कुरा गर्दा क्रान्तिकारी विचार त सुनिएला। तर यसका लागि तीन महिना लाग्छ। त्यसबेलासम्म त चुनाव आइसक्छ,’ उनले भने, 'पार्टीलाई एक ढिक्का बनाएर नियमित महाधिवेशनबाट सबै समस्याको समाधान खोज्नुपर्छ।'

कान्तिपुर

Link copied successfully