दाहाल संयोजक हुने प्रस्तावमा श्रेष्ठ र शर्माको फरक मत

दाहालले तत्काल अध्यक्ष पद त्याग्नुपर्ने माग, केन्द्रीय समितिको शुक्रबारको बैठकले महाधिवेशनको मिति तोक्ने

आश्विन १०, २०८२

गंगा बीसी

Shrestha and Sharma have different opinions on the proposal of Dahal being the coordinator

काठमाडौँ — विशेष महाधिवेशनका लागि केन्द्रीय समिति भंग गरी आफूलाई संयोजक तोक्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा अरू नेताले फरक मत राखेका छन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले फरक मत राख्दै दाहालले पद छाड्नुपर्ने माग गरेका हुन् ।

जेन–जी आन्दोलनपछि युवामा नेतृत्व हस्तान्तरण गर्ने भन्दै माओवादीले मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

शुक्रबार केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्नेछ । ‘वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने, आयोजक समितिमा वर्तमान केन्द्रीय समिति, प्रदेश पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरू रहनेछन्,’ दाहालले पेस गरेको राजनीतिक र सांगठनिक प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष आयोजक समितिको संयोजकको भूमिकामा र पदाधिकारी आयोजक समितिको सचिवालयको भूमिकामा रहनेछन् ।’

तर, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष दाहालले पद छोड्नु उपयुक्त हुने बताएका छन् । ‘महाधिवेशनको तयारीअनुरूप पार्टी पुनर्गठनको स्पष्ट सन्देश अहिल्यै थालनी गर्नुपर्छ । जेन–जी आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ,’ उनको मत छ ।

श्रेष्ठले दोस्रो वरीयताका नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन सकिने जनाएका छन् । तर उनले दाहाल स्वयंको सहमतिमा मात्र यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुने बताएका छन् । ‘अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँप्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्दै गर्नुपर्छ,’ उनले उल्लेख गरेका छन् । 

उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहाललगायत सबैले पदबाट राजीनामा दिएर स्थायी कमिटी सदस्यलाई जिम्मा दिनुपर्ने मत राखेका छन् । ‘पार्टी पुनर्गठनको प्रक्रिया अगाडि बढाउन यस बैठकबाट अध्यक्ष कमरेडलगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्छ, महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी स्थायी समितिलाई कार्यभार दिन डराउनु हुँदैन,’ उनको माग छ, ‘महाधिवेशनमा युवाको प्रतिनिधित्व र नेतृत्वसमेत सुनिश्चित गर्न अहिले नै अध्यक्षसहित सबै पदाधिकारी राजनीतिक र वैचारिक काम गर्ने गरी निर्देशक कमिटीको अन्तरिम विधानमा व्यवस्था गरी अगाडि बढ्नुपर्छ ।’

Shrestha and Sharma have different opinions on the proposal of Dahal being the coordinatorतर, दाहालले तत्काल पद त्याग नगर्ने स्पष्ट संकेत दिएका छन् । दाहाल, श्रेष्ठ र शर्माको प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु भएको छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष दाहालको प्रतिवेदन र अन्य फरक मतमा छलफल गरी महाधिवेशनको मिति तोकिने बताए । ‘विशेष महाधिवेशनका लागि महत्त्वपूर्ण निर्णय हुनेछ’ उनले भने ।

माओवादीले आगामी निर्वाचनमा युवा र जेन–जी पुस्तालाई उम्मेदवार चयन गर्न प्राथमिकतामा राख्ने प्रस्ताव गरेको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले यस्तो प्रस्ताव अघि सारेका हुन् । उनले महाधिवेशन र निर्वाचन तयारीलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् । माओवादीले २१ फागुनको निर्वाचन हुन नदिने षड्यन्त्र भएको भन्दै निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।

अध्यक्ष दाहालले जेन–जी आन्दोलनपछि भ्रष्टाचार छानबिन गर्ने नाममा नेताहरूलाई जेल हाल्ने, राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर आफूअनुकूल निर्वाचन गराउने चलखेल भइरहेको दाबी गरेका छन् । ‘जेन–जी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरूमाथिको संकट भने टरेको छैन । प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरू बाँकी नै रहेका छन्,’ दाहालले प्रतिवेदनमा भनेका छन् । माओवादीले विचार मिल्ने पक्षहरूसँग एकता र ध्रुवीकरणको पहल गर्ने पनि उल्लेख गरेको छ ।

गंगा

Link copied successfully