भौतिक संरचनामा आगजनी गर्ने तत्व अरू नै : ओली

जेन-जीले सिंहदबारलगायत भौतिक संरचनामा आगजनी नगरेको उल्लेख गर्दै ओलीले यसमा छानबिन गर्नुपर्ने बताएका छन् ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

The element that ignites the physical structure is something else: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहदबारलगायत संरचनामा भएको आगजनीबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । जेन-जीले सिंहदबारलगायत भौतिक संरचनामा आगजनी नगरेको उल्लेख गर्दै उनले यसमा छानबिन गर्नुपर्ने बताए ।

प्रेस चौतारी नेपालका पदाधिकारीसँग बिहीबार बेलुका भक्तपुरको गुन्डुमा भेट गर्दै उनले सरकारी भौतिक संरचना र निजी निवासमा आगजनीका घटनाले सबैलाई त्रसित बनाएको बताए । ‘निष्पक्ष ढंगले छानबिन गरी कारबाही हुनुपर्छ । जेन-जीले आगो लगाएका थिएनन् । सिंहदरबारमा कुन जेन-जीले आगो लगायो ? जेन-जीलाई आफ्नो देशप्रति माया छैन र ?’ उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, आरजुमाथि निर्मम प्रहार गर्ने जेन-जी थिएनन् । जनप्रतिनिधिका संस्था खोजीखोजी आगो लगाउनु भनेको जनप्रतिनिधि संस्था हुनुहुँदैन भनेको हो । त्यसको छानबिन हुनुपर्छ ।’ 

भौतिक संरचनामा आगजनी गर्ने अरु नै तत्व भएको भन्दै ओलीले जेन-जीमाथि आरोप लगाउन खोजिएको बताए । ‘दुःखको कुरा के हो भने सचेत युवा पुस्ताका नाममा यी क्रियाकलाप भए । त्यस्तो व्यक्तिले गरेका छन्, जसले राष्ट्रिय झन्डा ओढ्छन् र सिंहदबारमा आगो लगाउँछन्,’ उनले भने, ‘जनता त्रसित छन् । अहिले मानिसहरु सर्पले, बाघले आगो लगाइदिन्छ भनेर तर्सेको हो र ? अर्काको घरमा आगो लगाउनुलाई अधिकार ठान्ने, कर्तव्य ठान्ने र त्यसलाई उचित ठान्ने मानसिकतामा आज समाजलाई धकेल्न खोजिएको छ । त्यसको आरोप जेन-जी पुस्तालाई लगाउन खोजिएको छ ।’

उनले जेन-जीले अत्यन्त जायज माग अघि सारेको पनि स्वीकार गरे । ‘भ्रष्टाचार रोकथाम होस्, सेवा सुविधा राम्रो होस् । जनताले सुख पाउन् भन्ने थियो,’ उनले थपे, ‘तर त्यहाँभित्र अरु तत्वहरु आए । हतियार बोकेर जेन-जी आएका थिएनन् । सुतली बम पड्काउन जेन-जी आएका थिएनन् ।’

उनले भ्रष्टाचार नगर्नु आफ्नो अपराधको रुपमा चित्रण गरिएकाले आफूलाई निसाना बनाइएको बताए । ‘मैले भ्रष्टाचार नगर्नु अपराध हो ? मैले भ्रष्टाचार गरिनँ । गर्दिनँ । मलाई प्रहारको निसाना बनाउनुपर्ने ?’ उनले भने, ‘जेन-जीले यो गरेका छैनन् ।’ 

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालतर्फ संकेत गर्दै सिंहदबार घेर्ने, बालुवाटारमा उत्पात गर्ने भाषण गरेको बताए । ‘लोकतन्त्र होइन भने के तन्त्र ल्याउन खोजेको हो ?' उनले भने, ‘राष्ट्रियताको पक्षमा दृढताको पक्षमा उभिएर राष्ट्रियता स्वाभिमानको झन्डा उठाउँदै देखिने र सुनिने दिशामा अघि बढ्नु अपराध हो ? देशमा अराजकताको अन्त्य हुनुपर्छ । हिंसाको अन्त्य हुनुपर्छ ।’

उनले सामाजिक सञ्जाल बन्द नगरेको दाबी गर्दै मिडियाले अपवाह फैलाएको आरोप पनि लगाए । ‘हामीले सामाजिक सञ्जाल रोकेका थिएनौ । हुन नदिने, चल्न नदिने भनेका थिएनौं । सम्मानपूर्वक देशको कानुन मानेर चलाउनु भनेका थियौं । चल्न दिएनन् भनियो,’ उनले भने, ‘स्थापित मिडियाले पनि देशको अहित हुने गरी त्यस्ता अफवाहको खेती गरेका छन् ।’ उनले उसो भने पनि भदौ तेस्रो साता सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएको थियो ।

‌ओलीले विचारहीन र गन्तव्यहीन वकालत भइरहेको भन्दै दलविहीनतातिर लग्न खाजिएको दाबी गरे । ‘दलमा लाग्यो भने झोले हो । एउटा विचार बोक्यो भने झोले हो भनेर विचार शून्यताको वकालत गरिएको छ । गन्तव्यहीनताको वकालत गरिएको छ,’ उनले भनाइ थियो, ‘एउटा टेरोरिस्ट अभिव्यक्ति । मेरो विचारसँग सहमत छैनस् भने त्यो घर जलाइदिन्छु । त्यो ठाउँ छाडिहाल् भन्ने विवेकहीन तर्क आइरहेको छ ।’

कान्तिपुर

Link copied successfully