भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

'राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु ।'

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Bhattarai resigns as chairman of NESP (New Power).

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् ।

आज पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट अलग भएको स्पष्ट पारे । 'राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु,' उनले भने, 'तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिन सदैव लागि रहनेछु ।' 

सुशासनका पक्षमा भएको ‘जेन-जी’ आन्दोलन जायज भए पनि केही नेता र बाहिरी शक्तिले त्यसलाई बदनाम गर्न खोजेको उनको भनाइ थियो । भ्रष्ट नेतामाथि कारबाही हुनुपर्ने माग उठिरहेको सन्दर्भलाई इङ्गित गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, 'त्यसका लागि युवा पुस्ताबाट देशव्यापी रुपमा दबाब सिर्जना गर्न आवश्यक छ, भ्रष्ट जो कोही पनि कानुनको दायरामा आउनुपर्छ ।' 

अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने भन्दै उनले  निर्वाचन तथा शासकीय प्रणालीमा सुधार नगरे मुलुक थप जटिलतामा फस्ने दाबी गरे ।

आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा संस्थागत सहभागितासहित ‘जेनजी’ ले देशको नेतृत्व लिन सक्नुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully