कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण गर्न अपाङ्ग संघको माग

संघको बैठकले पार्टीको नेतृत्वको युवालाई हस्तान्तरण गर्न माग गरेको हो।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

The demand of the disabled association to transfer leadership from the special convention in the Congress

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पार्टीलाई युवाको नेतृत्वमा पुस्तान्तरण गर्न माग गरेको छ।

संघको केन्द्रीय समिति, प्रदेश अध्यक्षहरू र पदाधिकारी तथा जिल्ला अध्यक्षहरूको संयुक्त बैठकले पछिल्ला राजनीतिक घटनाको समीक्षा गर्दै पार्टीको नेतृत्वमा रूपान्तरणको आवश्यकता रहेको निष्कर्ष निकालेको हो। बैठकले पार्टीको नेतृत्वको युवालाई हस्तान्तरण गर्न माग गरेको छ। 

बैठकले जेन-जी आन्दोलनमा सहादत प्राप्त व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते नेतालगायत सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आन्दोलनका क्रममा भएका तोडफोड र हिंसात्मक गतिविधिको घोर भर्त्सना गर्दै समस्या समाधानको बाटो शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक प्रक्रियामार्फत मात्र सम्भव हुनेमा संघले जोड दिएको छ।

बैठकले भ्रष्टाचार, बेथिति, सुशासनको अभाव र जनअपेक्षाअनुसार काम हुन नसक्दा उत्पन्न जनआक्रोशलाई गम्भीर राजनीतिक चेतावनीका रूपमा स्वीकार गर्दै नागरिकहरूमा उत्पन्न पीडा र निराशाप्रति क्षमायाचना गरेको अध्यक्ष माधव चौलागाईंले जानकारी दिए । 

कांग्रेसलाई वडा तहदेखि केन्द्रीय तहसम्म पुनःनिर्माण, पुनःसंरचना र रूपान्तरणका लागि तत्काल ठोस कदम चाल्न नीतिगत सुधार आवश्यक रहेको भन्दै संघले तुरुन्तै अर्लि इलेक्सन वा विशेष महाधिवेशनमार्फत पार्टीमा रुपान्तरणको थालनी गर्नुपर्ने माग गरेको छ।  

कान्तिपुर संवाददाता

Link copied successfully