आक्रमणबाट कांग्रेस केन्द्रीय कार्यालयमा ठूलो क्षति, लाइब्रेरी खरानी

कांग्रेसको लाइब्रेरीमा भएको आगजनीले पार्टीको बौद्धिक सम्पदा नष्ट भएको छ, जहाँ करिब १५ हजार पुस्तक र डिजिटल सामग्री खरानी भएका छन्।

आश्विन २, २०८२

कुलचन्द्र न्यौपाने

Heavy damage to Congress central office, library destroyed by attack

What you should know

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले गरेको तोडफोड र आगजनीबाट ठूलो क्षति पुगेको छ । कार्यालय भवनका विभिन्न तलामा रहेका महत्त्वपूर्ण कार्यकक्षहरू, उपकरणहरू र दस्ताबेजहरू नष्ट भएका छन् भने फर्निचरलगायत महत्त्वपूर्ण सामानहरू लुटिएका छन् ।

विशेषगरी, एक वर्षअघि मात्रै निर्माण गरिएको लाइब्रेरीमा भएको क्षतिले पार्टीको बौद्धिक सम्पदामा गहिरो चोट पुगेको नेताहरूले बताएका छन् । कांग्रेस नेता पूर्णबहादुर खडकाले ठूलो मेहनतका साथ बनाइएको लाइब्रेरी पूर्ण रूपमा खरानी हुँदा स्तब्ध भएको बताए । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष पहलमा कांग्रेसले सुविधा सम्पन्न कक्षसहितको लाइब्रेरी निर्माण गरेको थियो ।

लाइब्रेरीका सबै पुस्तकहरू जलेर खरानी भएका छन् । कांग्रेसका प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार करिब ६५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको यो लाइब्रेरीमा देश–विदेशबाट सहयोग प्राप्त करिब १५ हजार पुस्तकहरू राखिएका थिए । यी पुस्तकहरूमा नेपाली राजनीति, इतिहास, दर्शन र कांग्रेसका ऐतिहासिक दस्ताबेजहरू समावेश थिए ।

‘आगजनीका कारण लाइब्रेरीमा एउटा पनि पुस्तक बाँकी छैन । यो लाइब्रेरी हाम्रो बौद्धिक सम्पदा थियो । देश–विदेशका दाताहरूको सहयोग र पार्टीको ठूलो मेहनतले बनाइएको थियो,’ विश्वकर्माले भने, ‘केही दिनअघि मात्र लाइब्रेरीका लागि सहयोग गर्ने दाताहरूलाई सम्मान गरेका थियौँ, तर आज सबै खरानी भएको छ ।’ यसले पार्टीको बौद्धिक सम्पदामा अपूरणीय क्षति पुर्‍याएको उनको भनाइ छ ।

डिजिटल सभा हल समेत ध्वस्त

पहिलो तलामै रहेको अत्याधुनिक डिजिटल सभा हल समेत पूर्ण रूपमा नष्ट भएको छ । सभा हलमा रहेका साउन्ड सिस्टम, प्रोजेक्टर र अन्य डिजिटल उपकरणहरू जलेर खरानी भएका छन् । यही तलामा रहेको अनुशासन समितिको कार्यकक्षमा पनि तोडफोड भएको छ, जहाँ करिब ३० प्रतिशत कागजात मात्र बचेको विश्वकर्माले बताए । त्यस्तै, कोषाध्यक्षको कार्यकक्ष पूर्ण रूपमा ध्वस्त भएको छ । सहमहामन्त्रीहरू भीष्म आङदम्बे, डिना उपाध्याय र नेता शेखर कोइरालाको कार्यकक्ष आगजनीबाट खरानी भएका छन् । पश्चिमतर्फको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकक्षमा तोडफोड भएको छ तर आगजनीबाट जोगिएको छ । मुख्य सचिव कृष्ण पौडेलको कोठामा रहेका दराज, किताब, फाइल, टेबल र कार्पेट सबै जलेर खरानी भएका छन् । यही लाइनमा रहेको पूर्वपदाधिकारी र महामन्त्री गगन थापाको कोठामा तोडफोडसँगै सामानहरू चोरी भएका छन् । लेखा समितिको कार्यकक्ष, क्रियाशील सदस्यता कम्प्युटर कोठा र आइटी कक्ष पनि ध्वस्त भएका छन् ।

दोस्रो र तेस्रो तलामा पनि लुटपाट र आगजनी

कार्यालयको दोस्रो तलाको पश्चिमतर्फ रहेको महामन्त्री विश्वप्रकाश शर्माको कार्यकक्ष आगजनीले खरानी भएको छ भने उपसभापति पूर्णबहादुर खडकाको कार्यकक्ष र लेखा समितिको कार्यकक्षमा तोडफोड भएको छ । कोठाहरूमा रहेका कम्प्युटर, प्रिन्टर, कम्प्युटरको हार्ड डिस्क चोरी भएका छन् । प्रदर्शनकारीहरूले कफी मेकर, जग समेत छाडेका छैनन्, सबै लुटेका छन् ।

तेस्रो तलाको बैठक कक्षमा रहेका महँगा कुर्सीहरू, एयर कन्डिसनर (एसी) र साउन्ड सिस्टम चोरी भएका छन् । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको कोठाबाट कम्प्युटरको हार्ड डिस्क निकालेर लगिएको छ । निर्वाचन समितिको कोठा पूर्ण रूपमा खरानी भएको छ, जहाँको सोफा र सिलिङका प्लास्टरहरू समेत भत्किएका छन् । चौथो तलामा प्रचार विभागको कार्यालयका सबै सामानहरू चोरी भएका छन् । त्यहाँबाट पनि कम्प्युटर, प्रिन्टर, वाटर डिस्पेन्सर र गिलासहरू चोरी भएका छन् ।

नेपालको नक्सामा लात्तीले हानिएको छ

कांग्रेस प्रचार विभागका प्रमुख विश्वकर्माका अनुसार नेपालको नक्सामा प्रदर्शनकारीहरूले आठ/नौ वटा बुटको छाप देखिने गरी लात्तीले हानेका छन् । ‘नेपालको नक्सालाई भुईँमा राखेर बुटले हानेको देख्दा हामीलाई अत्यन्तै दुःख लागेको छ । यो राष्ट्रिय अपमान पनि हो, कसले यस्तो हर्कत गरेको हो यसको पहिचान हुनुपर्छ,’ विश्वकर्माले भने । उनले यो घटनालाई सार्वजनिक रूपमा उजागर गरिएको बताए ।

क्रियाशील सदस्यताको डेटा सुरक्षित

आगजनी र लुटपाटका बीचमा पनि कांग्रेसको क्रियाशील सदस्यताको डेटा भने अन्यत्र ब्याकअप राखिएकाले सुरक्षित भएका छन् । कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्यता छन् । पार्टीको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम समेत सुरु भइरहेको थियो । त्यसको डेटा सुरक्षित नभएको भए महाधिवेशन सम्पन्न गराउन समस्या पर्ने थियो । क्रियाशील सदस्यताको डेटा सिस्टम भएको कम्प्युटर चोरी भए पनि त्यसको रेकर्ड छुट्टै हार्ड डिस्कमा ‘ब्याकअप’ राखिएकाले सुरक्षित भएको कार्यालयका कर्मचारीहरूले बताए । ‘हाम्रो महत्त्वपूर्ण डेटा सुरक्षित छ, जसले हामीलाई केही राहत दिएको छ,’ कार्यालयका एक सचिवले भने ।

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार भवनको भौतिक क्षति समेत करिब ६०–७० प्रतिशत भएको बताए । भूकम्पको समयमा पनि केही क्षति भएको उक्त भवनमा रेट्रोफिटिङ गरिएको थियो । ‘प्रारम्भिक अध्ययनले पिलर र बीमहरू आगोले नखाएको देखाएको छ, तर पूर्ण मूल्याङ्कनका लागि इन्जिनियरहरूको टोलीले अध्ययन गरिरहनुभएको छ,’ विश्वकर्माले भने, ‘हामीले आज र भोलि इन्जिनियरहरू ल्याएर भवनको अध्ययन गर्दैछौं र असोज ५ गते पत्रकार सम्मेलनमार्फत सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’

कांग्रेस उपसभापति खडकाले यो घटनालाई सङ्गठित र पूर्वयोजनाबद्ध आक्रमणको संज्ञा दिए । ‘राजनीतिक दलका पार्टीहरूमा भएको आक्रमण र आगजनी, नेताहरूका घरहरूमा भएको तोडफोड र आगजनीले यो कुनै स्वतःस्फूर्त घटना नभएर पूर्वनियोजित आक्रमण भएको पुष्टि हुन्छ,’ खडकाले कान्तिपुरसँग भने, ‘सन्त नेता कृष्णप्रसाद भट्टराईको बाडेगाउँस्थित आश्रममा समेत लुटपाट र आगजनी भएको छ । कांग्रेसका केही अपवादबाहेक सबै नेताहरूका घरहरूमा तोडफोड र आगजनी भएको छ । यी सबै घटना एउटै प्रकृति र योजनाबद्ध ढङ्गले भएका हुन् भन्ने प्रस्ट हुन्छ ।’

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully