रेशम चौधरीद्वारा नाउपा परित्याग, नयाँ पार्टीको घोषणा

भाद्र २९, २०८२

अर्जुन शाह

धनगढी — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रहेका रेशम चौधरीले नाउपा परित्याग गर्दै नयाँ पार्टी घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शनिबार वक्तव्य सार्वजनिक गर्दै चौधरीले नयाँ पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल’ रहने बताएका छन् ।

उनले भनेका छन्, ‘अब झगडा गरिरहनु छैन, रोइलो गर्नु छैन । थरुहटका नाममा ठगहरू भए, लाभका निमित्त नागरिक उन्मुक्ति पार्टीमा आए । अब म अल्झिन्नँ ।’

उनले आफ्नो सम्पूर्ण सम्पत्ति सरकारलाई दिन तयार रहेको घोषणा पनि गरेका छन् । ‘म पार्टी र राजनीतिबिना बाँच्न सक्दिनँ । स्वतन्त्रहरूको हातेमालोमा जोडिन चाहन्छु,’ उनले भने, ‘आजदेखि नयाँ संगठन र दल निर्माणमा लाग्न चाहन्छु । पुनः जुरमुराउन चाहन्छु ।’

जेन जेडको आन्दोलन अन्त्य नभएको बताउँदै उनले संसद्मा राजीनामा दिएर फेरि फिर्ता लिनेहरूसँग सहकार्य सम्भव नभएको बताएका छन् ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully