काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले कठिन संक्रमणकालबाट मुलुकलाई पार लगाउन प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीले जिम्मेवारी पाएको उल्लेख गर्दै फागुन २१, २०८२ मा घोषण भएको निर्वाचन सफलतापूर्वक हुनुपर्ने बताएको छ ।
‘तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता–हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरुप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रुतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ,’ रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी भनेका छन्, ‘यी घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ ।’
रास्वपाले भ्रष्टाचार र कुशासनविरुद्ध स्थापनाकालदेखिनै पार्टी संघर्षशील रहेको स्मरण गराउँदै भदौ २३ मा नवयुवा (जेनजी) पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको उल्लेख गर्दै संविधान पालनाको कोणबाट प्रश्न उठेको बताएको छ ।
‘राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ,’ बुर्लाकोटीले विज्ञप्तिमा भनेका छन् ।
