माओवादी अध्यक्ष दाहाल बिहीबार राति सेनाको विशेष सुरक्षामा शीतलनिवास पुगेका थिए
काठमाडौं — सुरक्षाको कारण देखाउँदै शिवपुरीलगायत सेनाको ब्यारेकमा राखिएका दलका प्रमुख नेताहरु अन्य नेताको सम्पर्कमै रहेका छन् । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेल र आफ्ना नेतासँगको सम्पर्कमै रहेको बुझिएको छ ।
बिहीबार रातिदेखि दलका शीर्ष नेता सम्पर्कमा नरहेको चर्चा चले पनि उनीहरु सम्पर्कमा रहेको निकट नेताहरुले बताएका छन् ।
राष्ट्रपति पौडेलले जेन-जीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन देउवा, ओली, दाहाल र नेपालसँग कुराकानी गरेका थिए । बिहीबार राति दाहाल सेनाको विशेष सुरक्षामा शीतलनिवास समेत पुगेका थिए । त्यसअघि उनीहरुले आआफ्नो पार्टीमा छलफल गरेका थिए । दाहाल शीतलनिवास जानुअघि उनले माओवादी उपमहासचिव वर्षमान पुनलाई त्यहाँ पठाएका थिए ।
‘आवश्यकताअनुसार राष्ट्रपति र नेताहरुसँग कुराकानी भइरहेको छ,’ माओवादीका एक नेताले भने । दाहालले विज्ञप्ति जारी गर्नुअघि सम्पर्कमा रहेका केन्द्रीय पदाधिकारीसँग टेलिफोनमा छलफल गरेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने अन्तरिम सरकारबारे उपाध्यक्षहरु र महासचिब घनश्याम भुसालसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
सेनाको ब्यारेकबाट बिहीबार दाहाल र नेपालले विज्ञप्ति जारी गरी संविधानको जगमा टेकेर अन्तरिम सरकार बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शनकारीले नेताहरुलाई निशाना बनाउन थालेपछि नेपाली सेनाले सुरक्षाका लागि उद्धार गरी विभिन्न ब्यारेकमा राखेको छ ।
