काठमाडौं । लेखक, पत्रकार, राजनीतिकशास्त्री, मानवशास्त्री, चिकित्सक, कवि, कलाकारहरुले ढिला नगरी हालको संकट र रिक्ततालाई चिरेर निष्कर्षतिर लैजान राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । उनीहरुले नागरिक सर्वोच्चता कायम हुने गरी नागरिक सरकार गठन गर्न पनि माग गरेका छन् ।
काठमाडौं । लेखक, पत्रकार, राजनीतिकशास्त्री, मानवशास्त्री, चिकित्सक, कवि, कलाकारहरुले ढिला नगरी हालको संकट र रिक्ततालाई चिरेर निष्कर्षतिर लैजान राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । उनीहरुले नागरिक सर्वोच्चता कायम हुने गरी नागरिक सरकार गठन गर्न पनि माग गरेका छन् ।
‘अब विलम्ब नगरी नेपालको संविधानका पालक र संरक्षकसमेत रहनुभएका सम्माननीय राष्ट्रपतिले अहिलेको संकट र रिक्ततापूर्ण अवस्थालाई निष्कर्षतिर लैजाने पहल र नेतृत्व गर्न आवश्यक भएको छ । यसका लागि आन्दोलनकारी जेनजी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद अगाडि बढाउन र ऐतिहासिक संविधानसभामार्फत बनेको संविधानको बृहत्तर दायराभित्रैबाट आन्दोलनको भावना र नागरिक सर्वोच्चता स्थापित हुने गरी अन्तरिम सरकार गठन गर्न हामी राष्ट्रपतिलाई हार्दिक अपिल गर्दछौं,’ उनीहरुले भनेका छन्, ‘यस्तो संवाद, परामर्श र छलफल नेपाली सेनाको जङ्गीअड्डामा होइन, राष्ट्रपति कार्यालयमा गर्न पनि आग्रह गर्दछौं । यी समग्र राजनीतिक, संवैधानिक र संक्रमणकालीन व्यवस्थाका बारेमा राष्ट्रपतिजीले अविलम्ब जनताका नाममा सम्बोधन गरी प्रक्रिया अगाडि बढाउन पनि आग्रह गर्दछौं ।’
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध तथा देशमा व्याप्त भ्रष्टाचारको विरुद्धमा नवयुवा उमेर समूह जेनजीको शान्तिपूर्ण आन्दोलनमा सरकारले अलोकतान्त्रिक, बर्बर र दमनकारी प्रवृत्तिको उनीहरुले घोर भर्त्सना र निन्दा गरेका छन् । ‘हामी सुरक्षा निकायलाई संविधानको भावना र विधिको शासनअनुसार मानवअधिकारको सम्मान गर्दै शान्ति सुव्यवस्था कायम गर्न आग्रह गर्दछौं,’ उनीहरुको भनाइ छ, ‘संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राज्यका लोकतान्त्रिक संस्था, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक धरोहरहरूसमेत तोडफोड गरियो र जलाइयो । राजनीतिक पार्टीका कार्यालय तथा नेताका निवास जलाउने तथा तोडफोड गर्ने र व्यक्तिगत रूपमा सांघातिक आक्रमण गर्ने कार्यहरू भए । यसैगरी सञ्चारगृह, निजी व्यावसायिक प्रतिष्ठान तथा उद्योग–व्यवसायमाथि पनि आक्रमण, आगजनी र लुटपाटसमेत गरियो ।’
प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुत्त नभएको कारण देश सरकारविहीन र राजनीतिक रिक्तताको घडीबाट गुज्रिरहेको उल्लेख गर्दै ताजा जनालेशमा जानु उपयुक्त हुने बताएका छन् । ‘हामी राष्ट्रपति, आन्दोलनकारी जेनजी समूह, राजनीतिक दलका साथै नागरिक समाज र बौद्धिक समुदायलाई स्मरण गराउन चाहन्छौं कि सार्वभौम संसद जीवित छ । साथै, अहिलेको असाधारण र विशिष्ट परिस्थितिमा हुने सहमतिलाई संसदमार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु नै सबैभन्दा उपयुक्त, लोकतान्त्रिक, संवैधानिक बाटो हो भन्ने कुरा पनि हामी स्मरण गराउन चाहन्छौं,’ उनीहरुको आग्रह छ, ‘तर संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको असफल नेतृत्व परिवर्तन गरी आफूलाई सुधार, पुनर्संरचना र रूपान्तरण गर्नु अपरिहार्य भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौं । ’
ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट बनेको संविधानको विरुद्धमा हुने कुनै पनि षड्यन्त्र नेपाली नागरिकलाई स्वीकार्य नहुने उनीहरुको भनाइ छ।
यसरी विज्ञप्ति जारी गर्नेहरुमा अनुप सुवेदी, अरुण जोशी, इन्दु अधिकारी, उद्धव प्याकुरेल, कन्चन झा, केशव दाहाल, कोमल भट्टराई, कृष्ण पौडेल, खगेन्द्र संग्रौला, गेजा शर्मा वाग्ले, घिमिरे युवराज, झलक सुवेदी, दिपेश घिमिरे, निरज भारी, मुमाराम खनाल, रामराज रेग्मी, सञ्जीव सतगैया, सुरेश ढकाल, विनोद विक्रम केसी र युग पाठक छन् ।
