सर्वोच्चसहित कुन–कुन अदालतमा भयो आगजनी ?

के हुन्छन् अब मुद्दा ?

भाद्र २५, २०८२

दुर्गा दुलाल

मंगलबारको प्रदर्शनका क्रममा सर्वोच्च, विशेषसहित चार उच्च अदालत र १० जिल्ला अदालतमा आगजनी भएको छ ।

कान्तिपुरले जिल्ला संवाददाताहरूबाट संकलन गरेको विवरण अनुसार काठमाडौंमा रहेको सर्वोच्च अदालत, विशेष अदालतदेखि काठमाडौं जिल्ला अदालतमासमेत आगजनीले क्षति पुगेका छ । 

यसका अलावा उच्च अदालत हेटौंडा, उच्च अदालत तुलसीपुर बुटवल इजलास, उच्च अदालत विराटनगर, उच्च अदालत राजविराजमासमेत आगजनी भएको छ ।

काठमाडौंसहित १० जिल्ला अदालतमासमेत आगजनी भएको पाइएको छ । जसमा कपिलवस्तु जिल्ला अदालत, सप्तरी जिल्ला अदालत, बाँके जिल्ला अदालत, चितवन जिल्ला अदालत, कास्की जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, कास्की जिल्ला अदालत, पर्सा जिल्ला अदालत र जिल्ला अदालत मकवानपुरमा आगजनीबाट क्षति पुगेको छ ।



के हुन्छ अब मुद्दा ?

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार देशभरका अदालतमा क्षति पुगेको र प्रारम्भिक जानकारी मात्र प्राप्त भएको छ । ‘सबै जिल्लाबाट विवरण प्राप्त भएको छैन । केही प्रारम्भिक तथ्यांकहरु आएका छन् । क्षतिको विवरण ठूलो छ,’ उनले भने, ‘सर्वोच्च र हेटौंडामा रहेको डाटा सेन्टरमासमेत आगलागी भएकाले यकिन विवरण निकाल्न कठिन भएको हो। ’ उनका अनुसार केही दिन अब अदालतले मिसिलहरूको खोजीमै लगाउने अनि त्यसपछि इजलासहरू निर्माण गरेर मात्र सेवा सञ्चालन गर्ने उनले जानकारी दिए । अब सरकारी वकिलहरूसँग भएको र पक्ष तथा विपक्षीहरुसँग भएका मिसिलहरू मगाएर सुनुवाइ सुरु गरिने छ । अदालतमा सग्लो फेला परेका मिसिलहरू त्यही रूपमा प्रयोग गरिने र फेला नपरेको हकमा अन्य विकल्प खोजी गरिनुपर्ने भएकाले यसमा फुलकोर्टले नै बसेर निकास निकाल्नुपर्ने देखिन्छ । सर्वोच्च अदालत सुरु भएपछि फुलकोर्ट बस्ने अनि यसले अदालत सञ्चालनको विषयमा निकास दिने सर्वोच्च अदालतले जनाएको छ । अदालतहरू कहिलेदेखि सञ्चालन हुन्छन् भन्नेबारे अनिश्चित रहेको सूचना अधिकारी पाण्डेले जानकारी दिए । सर्वोच्च अदालत आफैं जलेर ध्वस्त भएकाले केही भन्न नसकिने उनले बताए ।

०००

१७ सरकारी वकिल कार्यालय जले विवरण थपिने जिल्ला सरकारी वकिल कार्यालयका १७ भवनमा क्षति पुगेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीका अनुसार यो प्रारम्भिक तथ्यांक हो । महान्यायाधिवक्ता कार्यालय, विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा क्षति पुगेको छ। त्यस्तै, जिल्ला बाहिर उच्च सरकारी वकिल कार्यालय हेटौंडा, जिल्ला सरकारी वकिल कार्यालय मकवानपुर,उच्च सरकारी वकिल कार्यालय पोखरा, जिल्ला सरकारी वकिल कार्यालय कास्की, जिल्ला सरकारी वकिल कार्यालय तनहुँ, जिल्ला सरकारी वकिल कार्यालय कैलाली, उच्च सरकारी वकिल कार्यालय नेपालगन्ज, जिल्ला सरकारी वकिल कार्यालय दाङ, उच्च सरकारी वकिल कार्यालय तुलसीपुर, उच्च सरकारी वकिल कार्यालय बुटवल, जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी,उच्च सरकारी वकिल कार्यालय राजविराज, जिल्ला सरकारी वकिल कार्यालय सप्तरी र जिल्ला सरकारी वकिल कार्यालय चितवनमा क्षति पुगेको छ । रेग्मीका अनुसार अदालतकै मिसिलहरू नभएको र सुनुवाई अनिश्चित भएकाले सरकारी वकिल कार्यालयहरू पनि कहिलेदेखि खुल्ने अन्योल नै रहेको बताए । उनले अब अदालत र सरकारी वकिल कार्यालय मिलेर मिसिल जुटाउने काम हुने अनि त्यसपछि पेसी चढेर सुनुवाई अघि बढ्ने उनले बताए ।


दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully