कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ : महामन्त्री थापा

महामन्त्री थापाले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Congress should be free from fear and greed: Mahamantri Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन्। आज नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए।

उनले भने, 'कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जस्ले गल्ती गर्छ त्यसैले भोग्नुपर्छ।' यसैगरी, महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झिनुपर्ने अवस्था भएको उल्लेख गरे।

उनले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरुले काम गर्नुपर्नेमा जोड दिए। उनले भने, 'कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनुपर्छ ।'

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगर–३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौँ–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडालगायत नेताहरूले बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार राखेका थिए। 

कान्तिपुर संवाददाता

Link copied successfully