ओलीको प्रतिवेदन : एमालेको नजरमा कुन पार्टी कस्ता ?

कांग्रेसको नवउदारवादी अर्थनीति समृद्धि दिन नसक्ने, माओवादीलाई माओवाद भारी, रास्वपालगायत नयाँ दल विचार नभएका

भाद्र २०, २०८२

गंगा बीसी

Oli's report: In the eyes of UML, which party is like what?

What you should know

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा कांग्रेसको नवउदारवादी आर्थिक नीतिले मुलुकको समृद्धि गर्न नसकेको विश्लेषण गरेका छन् । कांग्रेस नेपालमा परीक्षण भइसकेको पार्टी भएको प्रतिवेदनमा भनेका छन् ।

‘नेपाली कांग्रेस मुलुकको पुरानो पार्टी हो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी पनि हो । तर लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणका लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति हो ।’

उनले विगतमा पार्टीको अन्तरकलहका कारण आफू र प्रजातन्त्र कमजोर भएको उल्लेख गरेका छन् । ‘दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमायो, र २०५९ सालमा त प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भयो । उसले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको यस अभियानको नेतृत्व गर्न सक्दैन भन्ने प्रस्ट छ ।’

नवउदारवाद संसारभरि नै असफल भइसकेको दाबी गर्दै कांग्रेसको यो विचारले नेपालमा अगुवाइ गर्ने संभावना नरहेको उनले बताएका छन् ।

माओवादी केन्द्रबाट मुलुक सही दिशामा अघि बढ्न नसक्ने ओलीको आरोप छ । माओवादीलाई माओवाद नै भारी भएको उनको तर्क छ । ‘प्रचण्डपथ’लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज ‘माओवादी’ ट्याग पनि भारी भएको छ । शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्यलगायत माओवादीका प्रायः सबै प्रयोग असफल भएका छन्,’ उनको आरोप छ, ‘अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, सांगठानिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको छ ।’

‘मुलुकको वैचारिक राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको’ एमालेको विश्लेषण छ ।

मधेशवादी दलहले संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकिरहेको’ एमालेको प्रतिवेदनमा भनिएको छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपना देखेको, धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको’ ओलीको प्रतिवेदनमा भनिएको छ ।  

राष्ट्रयि स्वतन्त्र पार्टी लगायतमा विचार नभएको उनले बताएका छन् । ‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गतः निर्वाचनबाट नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाएको’ प्रतिवेदनमा भनिएको छ । ‘पपुलिस्टहरूले राम्रैसँग दुरूपयोग गरे । तर उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन । हातमा समस्याको चाङ थियो, तर समाधानको कुनै विकल्प थिएन,’ ओलीको भनाइ छ, ‘न कुनै वैचारिक राजनीतिक स्पष्टता न विगतको कुनै बिरासत र योगदान न कुनै सुस्पष्ट गन्तव्य ।’

गंगा बीसी

Link copied successfully