सामाजिक सञ्जाल बन्द भए देश अस्तव्यस्त हुने माओवादीको चेतावनी। सरकारले समस्या पहिचान गरेर नियमन गर्नुपर्ने माग।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् । माओवादी केन्द्रले यसको विरोध गर्ने बताएका छन् । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण समस्या आएको जिकिर उनले गरे । नियमनको कुरा आवश्यक भए पनि समस्या के हो र कहाँ हो भन्ने पहिचान गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ । यसको हामी विरोध गर्छौँ । नियमन गर्ने कुरा आवश्यक छ । तर यसका लागि सरकारले कहाँ समस्या हो, के हो हेरेर बल्ल नियमन गर्नुपर्छ । सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले ख्याल गर्नुपर्छ ।’
उनले सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुने बताए ।
