भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरे पनि भ्रमण मिति अझै टुंगो लाग्न सकेको छैन।
What you should know
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मितिको औपचारिक टुंगो अझैसम्म नलाग्दा भ्रमणबारे अन्योलता बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारले साउन ४ गते प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ र असोज १ मा हुने मिति बाहिर ल्याएको थियो । तर उक्त मितिमा भ्रमण हुने/नहुने अझै यकिन हुन सकेको छैन । दुवै देशले औपचारिक रूपमा भ्रमणको मिति घोषणा गरेका छैनन् ।
भदौ १ मा काठमाडौँ आएका भारतका विदेश सचिव विक्रम मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका थिए । उक्त निमन्त्रणामा भ्रमण हुने मिति उल्लेख थिए न। तर त्यसअघि नै बालुवाटारले भ्रमण हुने मिति प्रचार गरेको थियो । परराष्ट्र स्रोतले भन्यो, ‘कूटनीतिक च्यानलमार्फत दुवै देशका प्रधानमन्त्रीलाई अनुकूल हुने मितिमा भ्रमण गर्ने गरी निमन्त्रण आएको हो ।’
भारतीय मिडिया द प्रिन्ट ले बिहीबार नेपाली पक्षबाट सार्वजनिक गरिएको सूचनाअनुसारको मितिमा ओलीको भ्रमण हुने सम्भावना कम रहेको दाबी गरेको छ । नेपाली मिडियामा प्रचारित भ्रमणको प्रस्तावित मितिलाई लिएर समस्या रहेको समाचारमा लेखिएको छ ।
प्रधानमन्त्रीको भ्रमण तयारीमा जुटेका एक जना अधिकारीले उक्त समाचारलाई नकार्न नसकिने बताए । ‘अहिलेसम्म औपचारिक रूपमा मिति घोषणा भएको छैन । द्विपक्षीय छलफल भने भइरहेको छ,’ उनले भने, ‘दुवै प्रधानमन्त्रीलाई उपयुक्त हुने मितिमा भ्रमण हुने हो ।’ प्रधानमन्त्रीको भारत भ्रमण हुनेमा कुनै द्विविधा नरहेको भन्दै त्यसका लागि आवश्यक तयारी भइरहेको उनले स्पष्ट गरे । ‘प्रचार गरिएको मिति आधिकारिक होइन, त्यसैले भ्रमणको मिति सर्यो वा भ्रमण रद्द भयो भन्नु गलत हुन्छ,’ ती अधिकारीले कान्तिपुरसँग भने ।
प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने, ‘भारतीय विदेश सचिवले भ्रमणको निमन्त्रण पत्र हस्तान्तरण गरेर फर्कनुभएको छ । उक्त भ्रमणका लागि अनुकूल मिति तय गर्ने काम भइरहेको छ ।’ प्रवक्ता क्षेत्रीको भनाइले पनि भारतीय सचिव मिस्रीले हस्तान्तरण गरेको निमन्त्रण पत्रमा भ्रमणको मिति तय नभएको प्रस्ट हुन्छ ।
सांघाई शिखर सम्मेलनमा सहभागी हुन चीन गएका बेला गत आइतबार तियानजिनमा ओली र मोदीबीच संक्षिप्त अनौपचारिक भेटवार्ता भएको थियो । ओली प्रधानमन्त्री भएको १४ महिना बित्दै गर्दा उनको भारत भ्रमण हुन सकेको छैन ।
पछिल्लो पटक भारत र चीनले लिपुलेक पास भएर व्यापार गर्ने सहमतिप्रति नेपालले कडा आपत्ति जनाएको छ । लिपुलेक नेपालको भूमि भएको भन्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि असन्तुष्टि व्यक्त गरेका थिए । गत शनिबार सीसँग भएको भेटमा ओलीले भारतसँग गरिएको उक्त सहमतिलाई रद्द गर्न आग्रह गरेका थिए ।
भारत–चीनबीच भएको सहमतिलाई लिएर ओलीले गरेको विरोधका कारण भारत असन्तुष्ट भएको हुनसक्ने अनुमान गरिएको छ । त्यसलाई लिएर पनि भारतले ओलीको भ्रमण सार्न चाहेको हुनसक्ने एक थरी विश्लेषण भइरहेको छ । तर, भारतीय अधिकारीसँग संवादमा रहेका एक जना नेपाली कूटनीतिज्ञले त्यही कारणले प्रधानमन्त्रीको भारत भ्रमण नगराउने पक्षमा भारत रहेको कुरालाई अस्वीकार गरे ।
‘यो मुद्दा नयाँ होइन । यसमा दुवै पक्षका आ–आफ्ना अडान छन्,’ ती अधिकारीले कान्तिपुरसँग भने, ‘भारतीय अधिकारीहरूले पनि त्यही बुझेका छन् । त्यसैले प्रधानमन्त्रीको भ्रमणलाई नै रोक्ने भन्ने उनीहरूको कुराकानीबाट देखिएको छैन । भ्रमणको मितिको विषय छलफलमै छ ।’
