उपनिर्वाचन माहोल : रुपन्देहीका साना दल भोट माग्दै, ठूला दल उम्मेदवार खोज्दै

रास्वपा, जनमत, राप्रपा नेपाल र जनमोर्चाले उम्मेदवार टुंगो लगाए, एमालेको केन्द्रमा सिफारिस, कांग्रेस–माओवादीमा उम्मेदवारबारे छलफलै छैन ।

भाद्र १९, २०८२

घनश्याम गौतम

By-election atmosphere: Small parties in Rupandehi are asking for votes, big parties are looking for candidates

What you should know

बुटवल — रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा साना राजनीतिक दलले मतदाता भेटघाट र प्रचारप्रसार सुरु गरेका छन् । तर, ठूला राजनीतिक दलले भने अझै पनि उम्मेदवार सिफारिस र टुंगो गर्न सकेका छैनन् । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित राप्रपाका नेता दीपक बोहराको निधनपछि उनको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि अब एक महिना मात्र बाँकी छ । आयोगले असोज २१ गते उम्मेदवारको मनोनयन गर्ने मिति निर्धारण गरेको छ । त्यसका लागि साना दल रास्वपा, जनमत, राप्रपा नेपाल र जनमोर्चाले उम्मेदवार टुंगो लगाइसकेका छन् ।

केही स्वतन्त्रसहितका उम्मेदवार अहिले निर्वाचन क्षेत्रमा भेटघाट र प्रचारमा जुटिरहेका छन् । तर, ठूला दल कांग्रेस र माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवार सिफारिस गरेका छैनन् । एमालेले भने चार जनाको नाम केन्द्रमा पठाएको छ । राप्रपाले उम्मेदवार छनोट प्रक्रियाअघि बढाएर चार जनाको नाम केन्द्रमा सिफारिस गरेको झन्डै दुई सातापछि 'प्राइमरी इलेक्सन'मार्फत उम्मेदवार टुंगो गर्ने निर्णय गरेको छ ।

अहिलेसम्म रुपन्देही–३ बाट उपनिर्वाचनका लागि रास्वपाले वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । उम्मेदवारी घोषणा भएकै दिन दुई श्रीमती र नागरिक उन्मुक्ति पार्टीको समानुपातिक बन्द सूचीमा रहेको सार्वजनिक भएपछि विवादमा परेका थापा बुधबारदेखि निर्वाचन क्षेत्रमा खटिएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको सियारी गाउँपालिका–२ का धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–१ बाट उम्मेदवार बनेर तेस्रो भएका थिए । 

नागरिक उन्मुक्तिबाटै निर्वाचन लड्ने तयारी गरेका चौधरी आन्तरिक विवादका कारण जनमतबाट चुनाव लड्न थालेका हुन् । ‘मेरो चाहना ढकियाबाटै चुनाव लड्ने हो, तर पार्टीको आन्तरिक विवादले उम्मेदवार नै बन्न नपाउने अवस्था भयो,’ उनले भने, ‘त्यसैले जनमतबाट चुनाव लड्दै छु । पार्टीले टिकट दिएपछि प्रचारमा जुटिरहेको छु ।’ अन्य मधेसवादी दललाई सहयोगका लागि आग्रह गरिरहेको र आफ्नो पक्षमा साझा मत हुन सक्ने उनले बताए । चौधरी एक साताअघि मात्रै नागरिक उन्मुक्तिबाट जनमतमा प्रवेश गरेका थिए ।

त्यस्तै, कमल थापा नेतृत्वको राप्रपा नेपालले अर्जुन थापालाई उम्मेदवार बनाएको छ । राप्रपा नेपालको प्रदेश समितिले जिल्लाबाट सिफारिस भएका तीन जनामध्ये थापाको नाम एकल रूपमा केन्द्रमा पठाएको थियो । थापा हाल राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष हुन् । राष्ट्रिय जनमोर्चाले पनि जिल्ला अध्यक्ष बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवार खोज्दै कांग्रेस–माओवादी, एमालेका ४ जना सिफारिस

रुपन्देही–३ मा पहिलो शक्ति दाबी गरिरहेको कांग्रेसले अहिलेसम्म उम्मेदवारको विषयमा छलफल सुरु गरेको छैन । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला भएकाले उनको अदालतको फैसला नआएसम्म उम्मेदवारबारे छलफल अघि नबढाएको कांग्रेस नेताहरूको भनाइ छ । खाँण राप्रपाका दीपक बोहरासँग करिब २६ सय मतले पराजित भएका थिए । त्यसैले उपनिर्वाचनमा पनि कांग्रेसबाट उनी उम्मेदवार बन्न सक्ने सम्भावना छ । खाँण नभएको अवस्थामा रामचन्द्र ढकाल वा प्रमोद यादव उम्मेदवार बन्ने सम्भावना रहेको बताइएको छ । कांग्रेसले उपनिर्वाचनका लागि दुई पटकसम्म महामन्त्री विश्वप्रकाश शर्मालाई स्थलगत अध्ययनका लागि पठाइसकेको छ । त्यसको आधारमा अन्तिम टुंगो लाग्ने कांग्रेस नेताहरूले बताएका छन् । कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारका विषयमा केन्द्रबाट कुनै निर्देशन नभएकाले अहिलेसम्म छलफल नै सुरु नभएको बताए । ‘पार्टी केन्द्रबाट निर्देशन नआइकन छलफलको अर्थ छैन,’ उनले भने, ‘पार्टीले आन्तरिक रूपमा अध्ययन गरिरहेको छ, निर्देशन आए लगत्तै टुंगो लगाइन्छ ।’

दोस्रो ठूला दल एमालेले भने उम्मेदवारका लागि खिमलाल भट्टराई, हरि अधिकारी, यज्ञजित शाह र शशी पौडेल गरी चार जनाको नाम जिल्ला र प्रदेशबाट सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । ‘केन्द्रले निर्णय गरेपछि उम्मेदवार टुंगो लाग्छ,’ जिल्ला सचिव हितराज पन्थीले भने, ‘एमालेको विधान महाधिवेशन सकिएपछि निर्णय हुने सम्भावना छ ।’ एमालेबाट खिमलाल भट्टराई वा शशी पौडेलमध्ये एक जना उम्मेदवार हुने सम्भावना बढी छ । निर्वाचनलाई केन्द्रित गरेर एमालेले जिल्लामा पार्टी प्रवेश अभियान पनि चलाइरहेको छ ।

नेकपा माओवादी केन्द्रले एकल प्रयासमा उम्मेदवार उठाउने भएकाले अहिले छलफलमै रहेको दाबी गरेको छ । तर, स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई अघि सारेमा माओवादीले समर्थन गर्ने गरी छलफल भइरहेको छ । माओवादी रुपन्देहीका अध्यक्ष निर्मल जिसीले भने अध्ययनकै क्रममा रहेको र केही दिनमै केन्द्रमा सिफारिस गर्ने बताए ।

नेकपा एकीकृत समाजवादी, लोसपा, जसपादेखि अन्य दलले उम्मेदवारबारे छलफल गरेका छैनन् । मधेसवादी दलहरूले साझा मोर्चा बनाएर निर्वाचनमा जाने वा एउटै उम्मेदवार दिने सम्भावनाबारे छलफल भइरहेको छ । माओवादी र समाजवादीसहितले समाजवादी मोर्चाबाटै एउटै उम्मेदवारी दिनेबारे पनि विचार भइरहेको स्रोतको भनाइ छ ।

यसअघि राप्रपाबाट दिवङ्गत दीपक बोहराका छोराछोरी र नातिनी स्वाति थापा, प्रदीप उदयसहितका नाम सिफारिस भए पनि केन्द्रले 'प्राइमरी इलेक्शन'मार्फत उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । सो निर्णयलाई लिएर राप्रपाभित्र विवाद देखिएको छ । जिल्लास्तरका नेताले सो निर्णयको विरोध गर्दै सिफारिस भएकै मध्येबाट उम्मेदवार छनोट गर्न दबाब दिएका छन् ।

२०७९ सालको निर्वाचनमा रुपन्देही–३ मा कांग्रेसले समानुपातिकतर्फ २० हजार २७८, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३, नागरिक उन्मुक्तिले ६ हजार, जसपाले ५ हजार मत ल्याएका थिए । यसै गरी, लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७ सय, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टी (लौरो) ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत ल्याएका थिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully