चौधरीलाई कार्तिक १७ को उपनिर्वाचनमा जनमत पार्टीको उम्मेदवार बनाउने निर्णय भएको यादवले सोमबार जानकारी दिएका छन्।
तिलोत्तमा — सिके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादवले मंगलबार नेता धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘हामीले सोमबार मात्रै चौधरीलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेका छौँ । अब हाम्रो उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत माग्नेछ ।’
चौधरी रुपन्देहीको सियारी गाउँपालिका–२ निवासी हुन् । गत २०७९ को निर्वाचनमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । त्यसबेला उनले ठूला दलसरह प्रतिस्पर्धी मत प्राप्त गरेका थिए ।
चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग गरी दुई हप्ताअघि मात्र जनमत पार्टीमा प्रवेश गरेका थिए । उनलाई जनमतका राष्ट्रिय अध्यक्ष सिके राउतले पार्टी प्रवेश गराएका थिए । त्यसपछि उनलाई नै उम्मेदवार बनाउने तयारी थालिएको थियो । पार्टीभित्र छलफलपछि चौधरीलाई कार्तिक १७ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय भएको यादवले जानकारी दिए ।
