राष्ट्रपतिलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले रोक्दैन : उपाध्यक्ष पाण्डे

एमालेले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतामाथि प्रश्न उठाउँदै सदस्यता नवीकरणमा रोक लगाएपछि संविधानको व्याख्यामा बहस चलिरहेको छ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

The Constitution does not prevent the President from joining a political party: Vice President Pandey

What you should know

काठमाडौँ — नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले नरोकेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित नेकपा (एमाले) को लोकतान्त्रीकरण विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले संविधानमा नभएको व्यवस्थालाई कुनै पार्टीले विधान बनाएर वा निर्णय गरेर रोक्न नमिल्ने बताए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय रहँदै सदस्यता नवीकरण गर्न पहल गरेसँगै नेकपा (एमाले) ले उनको सदस्यता नवीकरण हुन नसक्ने निर्णय गरेको छ।

राष्ट्रपति जस्तो गरिमामय पदमा बसेको व्यक्ति पुनः राजनीतिक दलमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने एमालेको ठम्याइ छ। तर एमालेभित्रै कतिपय नेताहरू भने संविधानले नरोकेको कुरा पार्टीले रोक्न नमिल्ने र सदस्यता नवीकरण हुनुपर्ने माग गर्दै आएका छन्। पूर्वराष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय नेताका रूपमा आफूलाई प्रचार गर्दै आएकी छिन्। सोही विषयमा बोल्दै उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे विषय उठाउने बताएका छन्।

उनले भने, संविधानले निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्त भएको पद राष्ट्रपति भएपछि स्वतः समाप्त हुन्छ मात्र भनेको हो। आउँदो महाधिवेशनमा यो विषयमा प्रश्न हुने, छलफल हुने र सहमति भए सहमति हुने वा भिन्न मत राख्ने अधिकार रहन्छ। पार्टीका डकुमेन्टहरू महाधिवेशनअघि नै आउने, छलफल हुने र सल्लाह अनुसार संशोधन हुन्छ।'

पाण्डेले नेपालको संविधानले कोही व्यक्तिलाई राजनीतिक दलमा काम नगर्न निषेध नगरेको र राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनु भन्ने व्यवस्था नरहेको बताए। संविधानले रोक्दै नरोकेको अवस्थामा कुनै पार्टीले विधान बनाएर वा निर्णय गरेर रोक्न नमिल्ने उनको भनाइ थियो। लोकतान्त्रिक अधिकारलाई उल्लङ्घन गर्ने काम कुनै राजनीतिक दलले गर्न नमिल्ने समेत उनले स्पष्ट पारे।

कान्तिपुर संवाददाता

Link copied successfully