के जनार्दनले माओवादी फुटाउन लागेका हुन् ?

दाहाल नेतृत्वमा नभए पनि पार्टी चल्ने भन्दै जनार्दन भन्छन् : शेषनागले पृथ्वी बोक्या पनि छैन । त्यो दन्ते कथा हो । आज विज्ञानले अर्कै पुष्टि गरिसक्यो  । दाहाल पनि जनार्दनप्रति कडै रूपमा प्रस्तुत भएका छन्, उनी भन्छन् : एक जना प्रभाकरले नपत्याएर पार्टीको आन्दोलन, इतिहास रोकिन्न

भाद्र १६, २०८२

गंगा बीसी

Is Janardhan going to split the Maoists?

What you should know

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध एक वर्षदेखि प्रश्न उठाउन थालेपछि उपमहासचिव जनार्दन शर्मालाई ‘पार्टी फुटाउन खोजेको’ गम्भीर आरोप लाग्दै आएको छ । विगतमा दाहालविरुद्ध प्रश्न उठाएका नेताहरू मोहन वैद्य, बाबुराम भट्टराईलगायत नेताले माओवादी छाडेको सन्दर्भ उल्लेख गर्दै शर्मा पार्टी फुटाउने गतिविधिमा लागेको प्रचार हुँदै आएको छ ।

साउन २० गते स्थायी समिति बैठकमा समेत उनलाई ‘बाह्य शक्तिको आडमा मूल नेतृत्वविरुद्ध उत्रिएको’ आरोप लाग्यो । सार्वजनिक रूपमा अध्यक्ष दाहालको कार्यशैलीको आलोचना गरेपछि स्थायी समितिमा आत्मालोचना गर्न अधिकांश स्थायी समिति सदस्यहरुको माग थियो । तर शर्माले आत्मालोचना नगरी आफ्नो भनाइ सार्वजनिक रूपमा नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर पछिल्लो समय उनले सांकेतिक रूपमा पार्टी नेतृत्वको आलोचना गर्न भने छाडेका छैनन् । अध्यक्ष दाहालले कुनै न कुनै रूपमा त्यसको जवाफ पनि दिँदै आएका छन् ।

उपमहासचिव शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, जनता समाजवादीका उपाध्यक्ष राजकिशोर यादवसँग खाना खाइरहेको तस्बिर आइतबार सामाजिक सञ्जालमा सार्वजनिक गरियो ।

Is Janardhan going to split the Maoists?

चैत १९ देखि २३ सम्म थाइल्यान्डको बैंककमा भएको बिमस्टेक सम्मेलनमा भाग लिन गएको बेला त्यतिबेलै सार्वजनिक भएको तस्बिरलाई माओवादीका नेता तथा कार्यकर्ताले काटेर ओली र शर्मालगायत नेता बसेको साइडको मात्र सामाजिक सञ्जालमा सेयर गरे । शर्माले ‘ओलीसँग गोप्य साँठगाँठ’ गरी अध्यक्ष दाहालविरुद्ध उत्रिएको आरोप लाग्यो । शर्मा पक्षका नेता पूर्व वाईसिएलका पूर्व अध्यक्ष सुवोध शेर्पालीले ‘अतिरञ्जित’ गरी तस्बिर सार्वजनिक गर्दा पार्टीलाई घाटा हुने भन्दै प्रतिवाद गरे । वास्तवमा यो दुई नेताबीच जारी द्वन्द्वको एक श्रृंखला हो ।

Is Janardhan going to split the Maoists?माओवादीमा अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीच हुने सवाल–जवाफले अन्तरसंघर्ष’ चर्किँदै गएको स्पष्ट छ । यो अन्तरसंघर्षले लिने रूप दसैं र तिहारको बीचमा हुने भनिएको केन्द्रीय समितिमा देखिनेछ । दाहाल र शर्माबीच घोचपेच भने जारी छ ।

भदौ १० मा काठमाडौंमा भएको अन्तरक्रियामा शर्माले सांकेतिक रूपमा पार्टी नेतृत्वमा नहुँदा पार्टी नचल्ने भनेर सोच्नु कथा भइसकेको भन्दै कटाक्ष गरे । ‘शेषनागले पृथ्वी बोक्या पनि छैन । त्यो दन्ते कथा हो । आज विज्ञानले अर्कै पुष्टि गरिसक्यो’ उनको भनाइ थियो, ‘यो पृथ्वी चल्छ । मैले आफैंलाई प्रश्न गरेको हो । प्रश्न गर्दा अरु त्रसिन्छन् र समस्या छ यहाँ ।’

१२ भदौमा विराटनगर पुगेका दाहालले उपमहासचिव शर्मातिर लक्षित गर्दै पार्टीमा स्वार्थ समूह रहेकाले तिनका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको बताए । स्थायी समितिले सार्वजनिक रूपमा पार्टी र नेतृत्वविरुद्ध प्रश्न नउठाउने निर्णय गरेको भन्दै उनले एक जनाले नचाहे पनि पार्टी अघि बढ्ने बताए । ‘उहाँ (शर्मा) ले के भनेको हो । आगामी पदाधिकारी बैठकमा समीक्षा गर्छौं,’ उनले पत्रकारहरूसँग भने, ‘एक जना प्रभाकरले नपत्याएर पार्टीको आन्दोलन, इतिहास रोकिन्न । पार्टी र नेतृत्वविरुद्ध बैठक गर्नुलाई स्वार्थ समूह भनेको हो ।’

Is Janardhan going to split the Maoists?पछिल्लो स्थायी समितिमा शर्माले माओवादी पुनर्निर्माणका लागि आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको उल्लेख गर्दै ‘कसैको इच्छा र चाहना हुँदैमा आफूले पार्टी नछाड्ने’ बताएका थिए । उनले पार्टीबाट धपाउने अनेक ‘षड्यन्त्र’ भइरहेको भन्दै आफू माओवादीमै रहेर प्रतिवाद गर्ने निकटहरूसँग बताएका छन् ।

‘पार्टी छोडोस् भनेर अनेक तानाबाना बुनिँदैछ,’ शर्माको भनाइ छ, ‘पार्टी पुनर्निर्माणका लागि मेरो अभियान हो । मविरुद्ध हुने षड्यन्त्रको म पार्टीभित्रै रहेर प्रतिवाद गर्छु । पार्टी पुनर्निर्माणको काममा लागिरहेको छु ।’ यसबीचमा शर्माले नेकपा महासचिव नेत्रविक्रम चन्द, एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालसँग सहकार्य अघि बढाएका छन् । वाम ध्रुवीकरण गर्ने भन्दै राजधानी र बाहिर बहस सुरु गरेका छन् ।

२०८१ साउन २६ को स्थायी समिति बैठकमा शर्माले लिखित रुपमा अध्यक्ष दाहाल प्रधानमन्त्री भएकै बेला पार्टी फुटाउन खोजेको आरोप आफूमाथि लागेको उल्लेख गरेका थिए । ‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरूले भित्र–भित्रै यो पार्टी बन्छ/बन्नैन भन्दै हिँडेका छन् । तर पार्टी निर्माणमा मैले प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ म तयार छु । पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु । जति धकेल्न खोजे पनि म पार्टीमा अडिइरहन्छु,’ उनले भनेका थिए, ‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरू गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । पार्टी फुटाउने कसले हो भन्दा बालुवाटार (दाहाल प्रधानमन्त्री भएको सन्दर्भ) बाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’

उनीमाथि अझै पार्टी फुटाउन खोजेको आरोप लाग्नुको अर्को कारणचाहिँ वाम ध्रुवीकरणका लागि नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालसँग अभियान चलाउनु पनि हो । तीन नेताले शनिबार बुटवलमा ‘वर्तमान राजनीतिक संकट र निकास’ र साउन ६ मा बुटवलमा पुष्पलाल स्मृति दिवस ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ शीर्षकमा वाम ध्रुवीकरणमा जोड दिएका थिए । सार्वजनिक मञ्चमा माओवादी मूल नेतृत्वको आलोचना गरेपछि अध्यक्ष दाहाल चिढिएका छन् ।

पछिल्लो स्थायी समिति बैठकले सार्वजनिक मञ्चमा पार्टी र नेतृत्वविरुद्ध नबोल्ने निर्णय गरे पनि शर्माले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा आलोचना गरिरहेकाले त्यो आगामी बैठकमा छलफलको विषय बनाउन लागिएको छ । दाहालनिकट केन्द्रीय सदस्य एवं वाईसीएलका पूर्व अध्यक्ष रामप्रसाद सापकोटाले विगतमा पार्टी विभाजन गर्नेहरुको हैसियत देखेकाले उपमहासचिव शर्माले त्यो तहसम्म जान नसक्ने बताए ।

‘जनार्दनको विचार राजनीतिक कुरा फरक छैनन् । अध्यक्षसँग बेमेल हुनुको कारण मुख्यगरी उहाँको इगो देखिन्छ,’ उनले भने, ‘पार्टी फुटाउनेहरूको इतिहास जनार्दनलाई राम्ररी थाहा छ । उहाँको असन्तुष्टि पार्टी फुटाउने तहमा जाला जस्तो लाग्दैन ।’ उनले सार्वजनिक रुपमा नेतृत्वलाई चुनौती दिनुभन्दा महाधिवेशनमा प्रतिस्पर्धा गरेर नेतृत्व लिनु उचित हुने बताए । ‘आम पार्टी पंक्तिलाई कन्भिन्स गरेर नेतृत्व लिन सक्नुपर्छ । नेतृत्व लिने अर्को प्रक्रिया भनेको महाधिवेशनमा चुनाव लड्ने हो । पार्टी नेतृत्वलाई सिध्याएर नेतृत्व लिन्छु भन्नु तर्कसंगत होइन,’ उनको भनाइ छ । 

शर्मानिकट केन्द्रीय सदस्य जगप्रसाद शर्माले आन्दोलनको पुनर्गठन, पार्टीको पुनर्निर्माण, कम्युनिस्टहरूबीच ध्रुवीकरण गर्ने अभियानमा शर्मा लागेको बताए । ‘पार्टी विभाजनको कुरै होइन, माओवादीकै जगमा गर्ने पार्टी पुनर्गठन गर्ने हो । वामपन्थीको जनमत मध्यनजर गरी पुनर्गठन गर्ने हो । नयाँ ढंगको वाम ध्रुवीकरण अभियान हो’ उनले शर्मामाथि लागेको पार्टी विभाजनको आरोपबारे भने, ‘माओवादीभित्र कतिपय संकर्ण सोच छ, त्यसैले पार्टी विभाजनको आरोप लाग्छ । पार्टीलाई विधि, पद्धतिमा लाने, जनतातिर फर्कने र नेतृत्व हस्तान्तरण गर्ने कुरालाई सबैले स्वागत गर्ने कुरा हो ।’ उनले नेतृत्व हस्तान्तरण व्यक्तिविरुद्ध नभई युवा पुस्तालाई अघि बढाउन शर्माले प्रस्ताव अघि सारेको बताए ।

सम्बन्धित अन्य समाचारहरु 

माओवादी अध्यक्ष दाहालले गराए उपमहासचिव शर्मालाई सचेत

जनार्दनलाई स्पष्टीकरण सोध्नुपर्ने अध्यक्ष पक्षधरको सुझाव, प्रतिवादका लागि परामर्श गर्दै जनार्दन

माओवादीभित्रको द्वन्द्व सतहमा

गंगा बीसी

Link copied successfully