सरकार निकम्मा हुँदा जलस्रोतको धनी देशका जनताले पिउने पानी पनि शुद्ध पाइरहेका छैनन् : अध्यक्ष यादव

‘जलस्रोतमा देश धनी छ तर यहाँका जनताले पिउने पानी पनि शुद्ध नपाएर हैजा फैलिँदा अनाहकमा ज्यान गुमाइरहेका छन् । ३५ वर्षदेखि निरन्तर कांग्रेस–कम्युनिस्टको सरकार छ तर न शुद्ध खानेपानी दिन सक्यो, न त किसानका लागि सिँचाइ नै पुर्‍याउन सक्यो ।’

भाद्र १५, २०८२

विद्यानन्द राम

People of countries rich in water resources are not getting clean drinking water because the government is ineffective: President Yadav

What you should know

राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार निकम्मा हुँदा जलस्रोतको धनी देशका जनताले पिउने पानी पनि शुद्ध नपाइरहेको बताएका छन् । आइतबार सप्तरीको राजविराजमा आयोजित नगर समितिका पदाधिकारी र सदस्यहरुलाई शपथ तथा पदभारग्रहण कार्यक्रममा बोल्दै उनले कांग्रेस–कम्युनिस्ट नेतृत्वको सरकार असफल भइसकेको दाबी गरे ।

‘जलस्रोतमा देश धनी छ तर यहाँका जनताले पिउने पानी पनि शुद्ध नपाएर हैजा फैलिँदा अनाहकमा ज्यान गुमाइरहेका छन्,’ उनले भने, ‘३५ वर्षदेखि निरन्तर कांग्रेस–कम्युनिस्टको सरकार छ तर न शुद्ध खानेपानी दिन सक्यो, न त किसानका लागि सिँचाइ नै पुर्‍याउन सक्यो ।’ उनले नेपालको जीवन प्रणाली कृषिमा आधारित हुँदा पनि सबैभन्दा बढी उपेक्षा किसानलाई नै गरिएको बताए । ‘संसारमै किसानलाई सबैभन्दा बढी अपेक्षा गरिएको देश हो नेपाल, त्यसैले पनि झन् गरिब हुँदै गइरहेको छ,’ उनले थपे, ‘शिक्षा र स्वास्थ्यको अवस्था पनि बेहाल छ, उद्योग धन्दा पनि बन्द छन् । गरिब बेरोजगारीका कारण छाक टार्न समस्या खेपिरहेका छन तर, सरकार मौन छ ।’

अध्यक्ष यादवले देश चलाउनेहरु नै भ्रष्टाचारी र दलालीमा लागेको आरोप समेत लगाए । ‘सरकारको काम के हो ? जनताको आवश्यकता पूरा गर्ने तर, अहिले उखु किसानले काठमाडौंमा आन्दोलन गरिरहँदा सरकारलाई कुनै मतलब छैन,’ उनले भने, ‘मधेशीलाई शोषण र कमिसनका लागि भूमि विधेयक पास गराउनमा मरिहत्तै गरिरहेका छन् ।’ 

उनले वर्तमान सरकारले संघीयतालाई पनि औचित्यहीन बनाइसकेको बताए । ‘सबै प्रदेशलाई आ–आफ्नो शासन, प्रशासन र न्यायालय हुनुपर्छ अनि मात्रै जनताले संघीयताको अनुभूति गर्न पाउँछन्,’ उनले भने, ‘तर, अहिले नामका लागि मात्रै प्रदेश छ । न कुनै अधिकार छ, न त कुनै काम नै । संघीय प्रणालीलाई मजबुत पार्न सबै प्रदेशलाई आ–आफ्नो प्रहरी, प्रशासन, न्याय, कर्मचारीतन्त्र र सरकार हुनुपर्छ ।’

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully