ओलीको असीमित सत्ता लिप्सा, निरंकुश र तानाशाही चरित्र पुनःछर्लंग : भीम रावल

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा नेता तथा कार्यकर्तासँग भएको छलफलमा भण्डारीलाई अनुभवहीनलगायतका शब्द प्रयोग गरी होच्याएको रावलको आरोप छ । 

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Oli's lack of unlimited power, autocratic and dictatorial character again: Bhim Rawal

What you should know

काठमाडौँ — एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई होच्याउने शब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा नेता तथा कार्यकर्तासँग भएको छलफलमा भण्डारीलाई अनुभवहीनलगायतका शब्द प्रयोग गरी होच्याएको रावलको आरोप छ । 

‘आफूलाई पार्टीको अपरिहार्य अध्यक्षको रुपमा प्रस्तुत गर्दै विद्या भण्डारीलाई 'अनुभवहीन' र ’लालगेडी’ जस्ता होच्याउने विशेषण प्रयोग गरी आलोचना गरिएछ,’ रावलले फेसबुकमा लेखेका छन्, ‘महाधिवेशनमा प्रतिस्पर्धा गरे पराजित हुने घोषणा गरिनुका साथै पार्टीमा अध्यक्ष हुने प्रयास गरिएमा 'भीम रावलको जस्तो हालत’ हुने धम्कीसमेत दिइएछ । यसबाट केपी ओलीको असीमित सत्ता लिप्सा, निरंकुश र तानाशाही चरित्र पुनः छर्लंग हुँदैन र ?’

उनले ‘जनताको बहुदलीय जनवादको मान्यताअनुरुप दसौं महाधिवेशनमा विधि र प्रणालीअनुसार काम र सबै प्रतिनिधिहरुलाई चाहेको पदमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएर अध्यक्ष पदमा उम्मेदवारी दिएको’ बताएका छन् ।

‘मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रुपमा लिनेहरुले केपी ओलीका उक्त भनाइबाट पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित मेरा धारणा, विचार र अडान केपीको असीमित सत्ता लिप्सा र अहंको कारण सहृय र स्वीकार्य नभएको सत्य, तथ्य अब त सबैलाई प्रस्ट भयो होला नि?’, उनको प्रश्न छ, ‘सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधरमाथि पनि छुरी चलाउन केपी ओली उद्धत हुन सक्ने यथार्थ छर्लंग भयो होला नि ?’

कान्तिपुर

Link copied successfully