राजनीतिक दलहरूले संविधान कार्यान्वयन नगरेको आरोप, संविधानलाई पछाडि फर्काउने बहसले प्रगतिशीलतालाई चुनौती।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । वर्तमान संविधान तुलनात्मक रूपमा प्रगतिशील भए पनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन नपरेको उनको टिप्पणी थियो।
उनले संविधानलाई अगाडि बढाउनेभन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको उल्लेख गर्दै यसप्रति सचेत हुन आवश्यक रहेको पनि बताए।
उनले राजनीतिक दलहरूले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए। संविधानको व्यवस्थाअनुसार राजनीतिक दल र नेतृत्वले व्यवहार नगर्दा दलको व्यवहारअनुसारको संविधान बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गरे।
उनले भने, ‘लगभग ७० वर्षदेखिको राजनीतिक दलहरूको निरन्तर प्रयास, मेहनत र उनीहरूले खेलाएको भूमिकाले आज हामीले तुलनात्मक रूपमा विगतका ६ वटा संविधानभन्दा महिलाको पक्षमा, दलितको पक्षमा र मधेसको पक्षमा राम्रो संविधान पाएका छौँ। यो कुरा कतिपयलाई मन परेको छैन। वर्चस्वशाली सधैँ सत्ता शक्तिमा हुने र सधैँ शक्ति संरचनामा रमाइलो गर्नेहरूलाई यो कुरा मन परेको छैन। विभिन्न कोणबाट यसमाथि संविधान संशोधनको नाममा संविधानलाई अगाडि लैजानेभन्दा पनि पछाडि फर्काउने बहस भइरहेको हो कि भन्ने सन्देह छ।’
संविधानले गरेको समानुपातिक व्यवस्था दलहरूले कार्यान्वयन नगरेको उनको आरोप छ।
