कांग्रेस–एमाले अझै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान तयार छैनन् : सांसद सापकोटा

सत्तारूढ दलहरूले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन नगरेसम्म संविधानबारे गरिएका बहसहरू अर्थहीन हुने सापकोटाको धारणा छ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

Congress-UML are still not ready to move to full proportional election system: MP Sapkota

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सापकोटाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरू अर्थहीन हुने टिप्पणी गरे।


उनका अनुसार सत्तारूढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न सकेका छैनन्। उनले माओवादी केन्द्रको स्पष्ट दृष्टिकोण प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानु रहेको दोहोर्‍याए।


सापकोटाले सांसदलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सकिए विधायिका काम प्रभावकारी हुने तर्क गरे। उनले भने, 'पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे गरिँदै आएको बहस अन्त्यहीन हुन्छ। कांग्रेस र एमाले आजै तयार भए भने पनि यो ठूलो कुरा होइन। तर ती दुई पार्टी अझै तयार छैनन्। हाम्रो स्पष्ट दृष्टिकोण भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसद मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर मात्रै आजका समस्याको समाधान सम्भव हुन्छ भन्ने हो।'


सापकोटाले संविधानलाई समयानुकूल संशोधन गरी जनतामुखी बनाउन माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदलाई मन्त्री बन्न नदिने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई दीर्घकालीन दृष्टिकोणका रूपमा अघि सारिरहेको पनि स्पष्ट पारे।

कान्तिपुर संवाददाता

Link copied successfully