राष्ट्रिय महाधिवेशनमा २ हजार ७७ प्रतिनिधि भए पनि यसपटक करिब ३ दर्जन प्रतिनिधि घट्ने संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले बताए ।
What you should know
काठमाडौँ — एमालेको विधान महाधिवेशन (भदौ २०–२२) मा सहभागी हुने प्रतिनिधिको संख्या घट्ने भएको छ । २०७८ मंसिरमा चितवनमा भएको राष्ट्रिय महाधिवेशनका प्रतिनिधि अद्यावधिक गर्दा प्रतिनिधि घटेका हुन् ।
राष्ट्रिय महाधिवेशनमा २ हजार ७७ प्रतिनिधि भए पनि यसपटक करिब ३ दर्जन प्रतिनिधि घट्ने संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले बताए । ‘महाधिवेशन प्रनिनिधि अद्यावधिक गर्दा करिब ३ दर्जन प्रतिनिधि घट्ने देखिएको छ,’ उनले भने, ‘मृत्यु भएका, कारबाहीमा परेका र लामो समयदेखि विदेश बस्दै आएका प्रतिनिधि घटेका हुन् ।
उनले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक दस्तावेज लेखनको मस्यौदा सकिन लागेको, सांगठनिक प्रतिवेदन लेखन पनि भइरहेको बताए । ‘राजनीतिक, सांगठनिक र प्राविधिक काम सकिन अन्तिम चरणमा छ,’ उनले भने, ‘यो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन महत्वपूर्ण हुन्छ । त्यसकै जगमा सांगठनिक र विधान लेखिन्छ ।’
एमालेले विधान मस्यौदामा सुझाव दिन प्रदेश र जिल्ला तहमा पठाएको छ । भदौ १० भित्र विधान मस्यौदामाथि सुझाव पठाइसक्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।
विधान महाधिवेशनमा अध्यक्ष ओलीले ‘राष्ट्रिय निर्णायक’ शक्ति बनाउने ‘मिसन ०८४’ केन्द्रित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । एमालेले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सैद्धान्तिक अवधारणासहित आगामी दिनमा पार्टीको राजनीतिक, वैचारिक र सांगठनिक विषय प्रतिवेदनमा आउने छ ।
एमालेले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निष्कर्ष निकालिसकेको छ । माओवादी केन्द्रले आगामी निर्वाचनमा वामपन्थी मोर्चा बनाउन खोजिरहेको बेला एमालेले प्रतिस्पर्धी कांग्रेससित भिड्ने गरी राजनीतिक र सांगठनिक प्रतिवेदन र कार्यक्रम बनाउन विधान महाधिवेशनबाट पारित गर्ने छ ।
ओलीले नेतृत्व गरेको कांग्रेस–एमाले गठबन्धन सरकार र त्यसले गरेका कामकारबाहीको समीक्षा, दुई ठूला दलबीच गठबन्धन गर्नुको उद्देश्य पनि प्रतिवेदनमा आउने छ । राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा हुने छ । राष्ट्रिय राजनीतिको समीक्षा गर्दा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र एमालेबाट विभाजन भएको एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकालाई आलोचनात्मक रूपमा दस्तावेजमा विषय आउने छ ।
अध्यक्ष ओलीले कुनै पनि दलसँग गठबन्धन नगरी आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्दै आएका छन् ।
महासचिव शंकर पोखरेलले २०८४ निर्वाचनमा आवश्यक पर्ने सांगठनिक प्रतिवेदन लेख्ने तयारी गरेका छन् । एमाले सदस्य संख्या बढाउने नीति अघि सार्न लागेको छ । हाल एमालेले ६ लाख संगठित सदस्य भएको दाबी गर्दै आएको छ । आगामी विधान महाधिवेशनदेखि संगठित र साधारण सदस्य बनाउने विधान मस्यौदा पछिल्लो केन्द्रीय समितिले पारित गरेको छ ।
