यही विश्वासको संकटले गर्दा २०/२५ वर्षयता दुवै देशले जलस्रोतको उपयोगको सम्बन्धमा जे गरिसक्नुपर्थ्यो त्यसबाट दुवै देश चुकेको पनि उनले बताए ।
What you should know
पर्सा — कांग्रेस महामन्त्री गगन थापाले नेपाल र भारतबीच विश्वासको संकट रहेको बताएका छन् । प्रदीप गिरी इन्स्टिच्युटको आयोजनामा शनिबार वीरगन्जमा आयोजित ‘उत्साह र संघर्षको आलोकमाः प्रदीप गिरीको सम्झना’ कार्यक्रमका बोल्दै उनले यस्तो बताएका हुन् ।
‘नेपाल र भारतबीच सरकारीस्तरमा एकदमै धेरै विश्वासको संकट छ,’ कार्यक्रमको तेस्रो सत्रमा वक्ता रहेका उनले भने, ‘नेपाल-भारत सम्बन्धको विषय उठ्नासाथ जलस्रोत उपयोगको विषय पनि उठ्छ चाहे त्यो कोशी, गण्डकी र महाकाली सन्धिको कुरा किन नहोस्, यिनमा हाम्रा अनुभव र चाहनाहरु छन् ।’
यही विश्वासको संकटले गर्दा २०/२५ वर्षयता दुवै देशले जलस्रोतको उपयोगको सम्बन्धमा जे गरिसक्नुपर्थ्यो त्यसबाट दुवै देश चुकेको पनि उनले बताए । उनले सरकारी तहबाट गर्ने संवाद दुवै देशका सरकारले गर्ने तर नागरिक समाजको तहबाट गर्नु पर्ने संवाद दुवै देशका नागरिक समाजले गर्न सक्ने बताए ।
यसले निश्चित मुद्दामा दुवै देशका नागरिक समाजबीच हुने संवादले धेरै समस्याहरु हल गर्न वातावरण सहज बनाउने बताए । ‘वारि पारिको सम्बन्ध र रोटी बेटीको सम्बन्ध मात्र भनेर हुँदैन,’ उनले भने, ‘दुवै देशका समुदाय–समुदायबीच पनि बहस र छलफल आवश्यक छ, दुवै देशका जनताले सरकार सरकारबीचको संवादको बाटो पनि खोल्नु पर्छ ।’ यस्तो काममा सहजीकरण प्रदीप गिरीजस्ता नेताबाट मात्र सम्भव रहेको पनि उनले बताए ।
प्रदीप गिरीसँग आफ्नो लामो संगत रहेको र त्यस क्रममा आफूले गिरीसँगै पटकपटक भारत भ्रमण गरेको स्मरण गर्दै महामन्त्री थापाले गिरीको भारतीय नेताहरुसँग नजिकको तथा व्यक्तिगत संगत देखेर आफू पनि अचम्मित हुने गरेको बताए ।
