उपमहासचिव शर्माले संविधानका धाराहरू कार्यान्वयन गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। संसद्मा निरन्तरता भए पनि आफूलाई आत्मग्लानि लागेको बताए।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानि हुने गरेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू अन्तरिम कालदेखि निरन्तर संसद्मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानि हुने गरेको बताए । आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने बताए । संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै दुखेसो गरे । उनले आफूले किन संविधानको कार्यान्वयन गरिएन? भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको टिप्पणी गरे।
उनले भने, 'संविधानमा उपलब्ध प्रगति त गर्यौं तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ। संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ। उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ। यो मैले गरेको प्रश्न म आफैँलाई हो। तर मैले आफैँलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ। प्रश्न आफैँलाई गरेको हो। किनभने त्यस ठाउँमा त हामी नै छौँ। संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौँ। म त अन्तरिम कालदेखि संसद्मा निरन्तर छु। पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि। कानुन नै चोरी हुन्छ। अलि दिक्क लागेर होला। अलि पुरानो भएर पनि होला।'
उपमहासचिव शर्माले देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको बताए ।
