नेपालमाथि अझै विदेशी हस्तक्षेप जारी: नेता चौलागाईँ

उनले नेपालमा स्थिरता नआओस् भन्ने शक्तिहरू सक्रिय रहेको बताउँदै एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेका आरोप लगाए ।

भाद्र ७, २०८२

नवराज श्रेष्ठ

Foreign interference continues on Nepal: Leader Choulagai

रामेछाप — एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमाथि अझै विदेशी हस्तक्षेप जारी रहेको बताएका छन् । 

रामेछापमा शनिबार सम्पन्न एमालेको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै चौलागाईँले अन्तर्राष्ट्रिय शक्तिहरूले 'केपी शर्मा ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल' बनाउन खोजिरहेको आरोप लगाए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालको सक्रियता पनि त्यही खेलको हिस्सा भएको टिप्पणी गरे । ‘अहिले चौतर्फी आक्रमण भएको बेला पार्टी अध्यक्षलाई हटाउनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘बाह्य हस्तक्षेपको प्रतिवाद गर्ने नेताका रूपमा केपी ओलीमाथि आक्रमण भएको हो, राष्ट्रहित विपरीत काम गरेको कारणले होइन ।’

भारतको नाकाबन्दीको सामना गर्नेदेखि चुच्चे नक्सा जारी गर्ने क्षणसम्म ओलीले दृढ भूमिकामा उभिएको दाबी गर्दै उनले ओलीलाई बचाउनु राष्ट्रहितसँग जोडिएको कुरा भएको उल्लेख गरे । उनले नेपालमा स्थिरता नआओस् भन्ने शक्तिहरू सक्रिय रहेको बताउँदै एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेका आरोप लगाए । ‘हामीले २०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने सम्भावना देखाएका छौँ, त्यसलाई रोक्न विभिन्न गतिविधि भइरहेका छन्’, उनले भने । 

उनले पार्टीको जरा–केन्द्रित अभियानबाट संकलित प्रतिवेदनलाई आधार बनाएर संगठनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । ‘मुख्य केन्द्र पालिकालाई बनाउनुपर्छ, पालिकाले सक्षम नेतृत्व खोजेको छ,’ उनको भनाइ थियो ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully