भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग

सांसदहरूले भारत र चीनबीच लिपुलेक नाका सञ्चालनबारे नेपाललाई जानकारी नदिइएको भन्दै सरकारलाई कूटनीतिक समाधान खोज्न ध्यानाकर्षण गराए।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

India and China demand to cancel the trade agreement that involves the use of Nepal's land

What you should know

काठमाडौँ — सांसदहरुले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा जोडदारका साथ उठाएर समाधान खोज्न आग्रह गरे ।

सांसद घनश्याम रिजालले भारत र चीनले नेपालको उपस्थिति र सहमतिबिना नै आपसी व्यापारिक प्रयोजनका नेपाली भूभाग लिपुलेक नाकालाई पुनः सञ्चालन गर्ने निर्णय आपत्तिजनक विषय भएको भन्दै कूटनीतिक नोट पठाएर विवादको समाधान खोज्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका दौरानमा यो विषयलाई बलियोसँग उठाएर किनारा लगाइनुपर्नेमा जोड दिए ।

सांसद पदमबहादुर परियारले नेपालको स्वीकृतिबिना भारत र चीनले नेपालको भूमि प्रयोग गर्दै गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरे । उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको समयामा यो विषयलाई कूटनीतिक तवरबाट समाधान खोज्न पहल गर्दै तत्काल कूटनीतिक नोट भारत र चीनलाई पठाउन सरकारसमक्ष माग गरे ।

सांसद मनरुपा शर्माले लिपुलेकको विषयमा सरकारले स्पष्ट धारणा बाहिर ल्याएर समस्याको समाधान खोज्न माग गरिन् । सांसद रुक्मिणी कोइरालाले भर्खरै चीन र भारतद्वारा नेपालको लिपुलेक, लिम्पयाधुरा र कालापानी हुँदै व्यापारिक सम्झौता गरेकामा आपत्ति जनाउँदै कूटनीतिक पहलद्वारा समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद रेणु चन्दले सरकारले महिलामैत्री कानुन निर्माण गर्न र उनीहरुको वृत्तिविकासमा प्रोत्साहन गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विष्णुकुमारी सापकोटाले नेपालको लिपुलेकबारे दुई छिमेकी मुलुकले गरेको अतिक्रमणबारे सरकारले कूटनीतिक पहलमार्फत समाधान खोज्नुर्नेमा जोड दिइन् । सांसद विष्णुबहादुर विश्वकर्माले दुई छिमेकी मुलुक भारत र चीनले नेपालको भूभाग प्रयोग गरेर व्यापारिक सम्झौता गरिनु नेपालमाथिको हस्तक्षेत्र भएको बताए ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले चिनियाँ विदेशीमन्त्रीको भारत भ्रमणका क्रममा दुई देश भारत र चीनले लिपुलेक नाकाबाट पुनः व्यापार खोल्ने विषय नेपाललाई जानकारी नदीइकन गरिएको विषय खेदजनक भएको भन्दै चाँडो कूटनीतिक पलह गरेर समस्याको समाधान खोज्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद सावित्री मल्लले यही भदौ ३ गते  भारत र चीनबीच नयाँ दिल्लीमा नेपाललाई जानकारी र सहमतिबिना नै लिपुलेक भएर व्यापारिक सम्झौता नेपालमाथि गरिएको हेपाहा व्यवहार भन्दै यो निर्णय सञ्चाउन कूटनीतिक पहल गर्न सरकारसँग माग गरिन् ।

कान्तिपुर

Link copied successfully