संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, कांग्रेसले गाली खानुपरेको छ: महामन्त्री थापा

महामन्त्री थापाले सात बुँदे सहमतिमा पहिलो बुँदा समेत कार्यान्वयन नगरेको भन्दै सरकारको चर्को आलोचना गर्दै सुधारको आवश्यकता औँल्याए।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

The government did not even break the 'Cinco' in the constitution amendment process, the Congress had to take abuse: General Minister Thapa

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा कांग्रेसले गाली खानुपरेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले उनले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भए पनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे।

उनले भने, ‘सात वटा सहमति यो सरकारको मुख्य आधार हो। त्यसको पहिलो बुँदामा हामीले राजनीतिक स्थायित्वका निम्ति संविधान संशोधन गर्छौँ भनेका छौँ। हामीले सिन्को पनि भाँचेका छैनौँ। अहिले हामी राष्ट्रिय सभामा निर्वाचन गरेर बहुमत आएपछि गर्छौँ भनिरहेका छौँ। त्यस्तो भन्न पाउँछौँ? हामीसँग त्यो अधिकार नै छैन।'

उनले माथिल्लो सदन राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँछौँ भन्न सरकारले नपाउने बताए। संविधान संशोधनका लागि साझा मुद्दामा सहमति गर्दै अगाडि लैजानुपर्ने उल्लेख गर्दै सदनमार्फत नै संयन्त्र बनाउन उनले सरकारसँग आग्रह गरे। सरकारले जनतासँग गरेको वाचा अनदेखा गरेको भन्दै त्यस्तो गर्न पाउने अधिकार सरकारसँग नरहेको उनको तर्क छ।

रउनले थपे, 'हामीसँग संविधान संशोधन गर्नका लागि संख्या पुग्दैन। पछि समझदारी बन्न नसक्ला, त्यो त्यति बेलाको कुरा हो। तर योतर्फ हामीले कदम अगाडि बढाउनु पर्दैन? हामीले नबढाउँदै गर्दा अहिले हामीलाई गिज्याउने अवस्था बनेको छैन? तिमीले के गर्‍यौ भनेर हामीले गाली खाइराख्नुपरेको छ। हामीले जिम्मा लिएको कुरा गर्नुपर्दैन? अब संविधान संशोधनका लागि प्रतिपक्षी दललाई समेत जोडेर अगाडि बढौँ। हामी यो वाचा गरेर आएका छौँ, यो हामीले गर्नै पर्छ। लोकतन्त्रमा जनतासँग गरेका वाचालाई हामीले अनदेखा गर्न पाउँदैनौँ।’

दुई प्रमुख दलहरूको समीकरणमा बनेको सरकारले समेत अपेक्षाकृत नतिजा दिन नसकेको भन्दै उनले सुधारको आवश्यकता औँल्याए। 

कान्तिपुर

Link copied successfully