पूर्वराष्ट्रपति भण्डारीले देशको अर्थतन्त्र आयातमा आधारित र व्यापार घाटा बढेको बताउँदै राष्ट्रिय पुँजी फस्टाउन नसकेकोमा चिन्ता व्यक्त गरिन्।
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको टिप्पणी छ ।
आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको पूर्वराष्ट्रपति भण्डारीको जिकिर छ । उनले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताइन् ।
‘हाम्रो देशको अर्थतन्त्र, मैले त पहिला पनि भन्ने गरेको छु । यहाँ पनि भन्छु । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ । आयातमा आधारित भन्सारमा चलिरहेको छ । त्यसले व्यापार सन्तुलन भइरहेको छैन । व्यापार घाटा भइरहेको छ । वैदेशिक ऋण बढिरहेको छ । दलाल पुँजी फस्टाइरहेको छ । राष्ट्रिय पुँजी फस्टाउन सकिरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति हो,’ उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताइन् । नयाँ पुस्ताको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्ने पनि उनको भनाइ छ ।
