डडेलधुरा अस्पताल पाँच वर्षमा पाँच सय शय्याको हुनेछ : मन्त्री पौडेल

मन्त्री पौडेलले संघीय अस्पतालको मापदण्डअनुसार अब कुनै पनि अस्पताल ५ सय शय्याभन्दा कम नहुने उल्लेख गर्दै डडेलधुरालाई त्यसैअनुसार अघि बढाउने योजना रहेको बताए ।

भाद्र ५, २०८२

तर्कराज भट्ट

Dadeldhura Hospital will have 500 beds in five years: Minister Paudel

What you should know

डडेलधुरा — स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलले डडेलधुरा अस्पताललाई आगामी पाँच वर्षभित्र पाँच सय शय्यामा विकास गर्ने घोषणा गरेका छन् । 

बिहीबार संघीय सरकार मातहतको डडेलधुरा अस्पतालको अनुगमन तथा हेमोडायलाइसिस सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले अस्पताललाई संघीयस्तरको स्वास्थ्य संस्था बनाउन आवश्यक बजेट, जनशक्ति, पूर्वाधारलगायतका क्षेत्रमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पौडेलले संघीय अस्पतालको मापदण्डअनुसार अब कुनै पनि अस्पताल ५ सय शय्याभन्दा कम नहुने उल्लेख गर्दै डडेलधुरालाई त्यसैअनुसार अघि बढाउने योजना रहेको बताए । उनले भने, ‘यहाँ निजी क्षेत्रको लगानी सम्भव छैन, जनसंख्या कम भएकाले सरकारी उपस्थिति अपरिहार्य हुन्छ । चिकित्सकलाई टिकाउने वातावरण बनाउन अस्पताल, पालिका र प्रदेशले पनि हातेमालो गर्नुपर्छ ।’

मन्त्री पौडेलका अनुसार दैनिक १ हजार बिरामी उपचार हुने वातावरण बने माघदेखि एमडीएमएस (विशेषज्ञता अध्ययन) सुरु हुने र आगामी असारदेखि ५० जना एमबीबीएस विद्यार्थी भर्ना गर्न सकिने सम्भावना छ । यसरी चिकित्सा शिक्षा सञ्चालन भए चिकित्सक अभाव समाधान हुने विश्वास व्यक्त गर्दै उनले विश्वविद्यालयले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

स्वास्थ्य बीमालाई विपन्न सुविधा जोडिएको जानकारी दिँदै मन्त्री पौडेलले अब बीमा गरेकाले मात्रै विपन्न सुविधा पाउने व्यवस्था गरिएको स्पष्ट पारे । विपन्नका लागि सुविधा थपिएको र आधारभूत अस्पतालमा समेत केन्द्रबाटै चिकित्सक तोकी पठाउने तयारी भइरहेको बताए । उनले उपकरण, पूर्वाधार र जनशक्ति व्यवस्थापनमा संघीय मन्त्रालयले सक्दो सहयोग गर्ने तर चिकित्सकलाई टिकाउने जिम्मेवारी अस्पताल विकास समिति, स्थानीय पालिका र प्रदेश सरकारले पनि लिनुपर्ने आवश्यकता औंल्याए ।

अस्पतालकी मेसु डा. सुधा देवकोटाले डडेलधुरावासीले उच्चस्तरीय उपचार सेवा पाउने अधिकार भएको उल्लेख गर्दै दक्ष जनशक्ति, आधुनिक उपकरण र विशेष सेवाको आवश्यकता रहेको बताइन् । अस्पताल विकास समिति अध्यक्ष करुणकार ओझाले समेत अस्पतालका चुनौती समाधान गर्न मन्त्रीसँग आग्रह गरे।

तर्कराज

Link copied successfully