रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारद्वारा संसद र संवैधानिक निकायमाथि अपमान भएको भन्दै कडा प्रतिक्रिया जनाए।
काठमाडौँ — उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले) हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाए । उनले सरकारको तर्फबाट नै सम्मानित संसद् र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गरे । उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गरे । लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उनको भनाइ थियो ।
परियारले नेपाली कांग्रेसलाई बीपी कोइरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गरे । उपसभामुखको पदमा रहेकी जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी पनि दिए ।
उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो, त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ, सभामुख महोदय । लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अपमूल्यन भएको छ, यो लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याइ हो, सभामुख महोदय ।’
परियारले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए ।
