संवैधानिक परिषद्मा बहुमत नपुग्दा उपसभामुखलाई निशाना बनाइएको राप्रपा सांसदको आरोप, एमाले सांसद थापाको नियमापत्ति

सांसद कार्कीले एमाले र कांग्रेसको नाटक भन्दै उपसभामुखलाई निशाना बनाएको आरोप संसदमा लगाइन्।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

RPP MP's allegation that the Deputy Speaker was targeted when the majority in the Constitutional Council was not reached, UML MP Thapa's objection

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरिएको भन्दै सत्तारूढ दलहरूप्रति कटाक्ष गरेपछि नेकपा (एमाले) का सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र कांग्रेसका सांसदलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाए । सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाइन् । उनले भनिन्, ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन ? कस्तो पार्टी ? कस्ता सांसद ? धिक्कार होस् ।’

कार्कीले अगाडि थपिन्, ‘हिजो दिनभरि नौटंकी देखियो । एमाले र नेपाली कांग्रेसले आफ्ना माननीयलाई खाली कागजमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो । यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वासको प्रस्तावमार्फत हटाउन रे । उनीहरूलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखमाथि महाअभियोग लगाउने कुरा चल्यो । सही गराउने कस्तो पार्टी ? सांसद कस्ता ? धिक्कार होस् ।’

लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्द स्वीकार्य नहुने बताए । उनले 'मण्डले'हरूसँग लामो समयसम्म लडेर आफूहरू आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully