एमालेले निषेध गरे पनि भण्डारीले विराटनगरमा आफ्नो सक्रियता देखाउँदै राजनीतिक भेटघाटलाई निरन्तरता दिएकी छन्।
What you should know
विराटनगर — ७ महिनाको अवधिमा तेस्रो पटक सोमबार विराटनगर ओर्लिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार राति करिब ८ बजे गोप्य भेटघाट गरेका छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले कार्कीले करिब १ घण्टा भण्डारीसँग ‘वान टु वान’ भेट गरेको जनाए । लुइँटेलले भने, ‘मुख्यमन्त्रीले सुटुक्क भेट्नु भएको हैन, सरकारका मन्त्रीसहितको टोलीसँग गएर भेट्नु भएको हो ।’
एमाले केन्द्रीय समितिले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी त्यसलाई चुनौती दिँदै सक्रिय राजनीतिमा फर्किन लागेकी छन् । यही राजनीतिक संवेदनशीलताबीच मुख्यमन्त्री कार्कीले भण्डारीलाई भेट्नु राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ । प्रेस सल्लाहकार लुइँटेलका अनुसार करिब एक घन्टा लामो भेटका क्रममा पूर्वराष्ट्रपति–मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको थियो । लुइँटेलले भने, ‘पूर्वराष्ट्रपतिको हैसियतमा भण्डारीलाई सम्मान गर्ने एमालेको नीति छ, त्यहीअनुरूप भेट भएको हो ।’
भेटमा के कुरा भयो भन्ने विषयमा मुख्यमन्त्रीको कार्यालयले कुनै जानकारी दिएको छैन । तर, स्रोतका अनुसार भण्डारीले अध्यक्ष केपी ओलीले आफूलाई अपमान गरेको गुनासो समूहसहित राख्दै आएकी छन् । मुख्यमन्त्रीसँगको भेटपछि भण्डारीले आफूलाई थप राजनीतिक रणनीतिमा अघि बढाउने संकेत दिएको हुनसक्ने विश्लेषकहरू अनुमान छ ।
भण्डारीलाई विराटनगर विमानस्थलमा प्रदेशका राज्यमन्त्री सिर्जना राईलगायतका एमाले नेता–कार्यकर्ताहरूले स्वागत गरेका थिए । मंगलबार एमाले जिल्ला पार्टी कार्यालयमा एमाले कार्यकर्तासँग भेट्ने भण्डारीको योजना थियो । तर, एमालेले कार्यकर्तालाई भण्डारीसँग भेट्न नजान आदेश दिएको थियो । पार्टी इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक निर्देशन दिँदै भनेका छन्, ‘विराटनगरमा कुनै औपचारिक कार्यक्रम छैन, भ्रममा नपर्नुहोस् ।’
मुख्यमन्त्रीको भेट राजनीतिक सन्देश र संवेदनशील सन्तुलन कायम गर्ने रणनीति जस्तो देखिएको छ । भण्डारी र कार्कीको संवादले प्रदेश राजनीति र एमालेभित्रको पक्षपात, दबाब र भविष्यको शक्ति सन्तुलनबारे नयाँ चर्चा जन्माएको छ ।
निषेधका बाबजुद सक्रिय
एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा सक्रिय हुन रोक्ने निर्णय गरे पनि त्यो निर्णयले उनलाई थाम्न भने सकेको छैन । एमालेको निषेधका बाबजुद भण्डारी पुनः सक्रिय बन्न थालेकी छन् । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले सुरुआती चरणमा निर्णयको विरोध गर्दै विज्ञप्ति जारी गरिन् । त्यसयता उनी लामो समय मौनजस्तै देखिइन् । आफू पुनः राजनीतिमा उत्रिएको सन्देश दिन उनी पुनः विराटनगर ओर्लिइन् सोमबार ।
विराटनगर उनको राजनीतिक आधार क्षेत्र पनि हो । त्यही भएर सात महिनामा उनी तेस्रो पटक विराटनगर ओर्लिइसकेकी छन् । सोमबार उनी विराटनगरमा आयोजित उद्घोष दैनिकको २१ औं वार्षिकोत्सवमा सहभागी भइन् । औपचारिक कार्यक्रम बाहिर पनि उनले राजनीतिक भेटघाट र संवादलाई निरन्तरता दिइन् । भण्डारीको भेटघाटको व्यवस्थापन एमालेभित्र संस्थापनइतर धारका नेता विनोद ढकालले मिलाएका छन् ।
एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य ढकाल स्वयं कोशी प्रदेश अध्यक्षमा पराजित भएयता प्रमुख भूमिकामा नभए पनि मोरङ, विराटनगरलगायत क्षेत्रमा उनको नेतृत्वमा संस्थापनइतर धार बलियो बनेको छ ।
भण्डारीले तीजको अवसर पारेर एमाले केन्द्रीय नेताहरू, अखिल नेपाल महिला संघका पदाधिकारी र सदस्यहरूसँग भेट्ने तयारी गरेको उनका निकट नेताहरूले बताएका छन् । भदौ ६–७ गते दरका बहानामा भेटघाट र राजनीतिक संवाद गर्ने उनको कार्यक्रम तय भएको छ । त्यसपछि भदौ दोस्रो सातातिर वीरगञ्जमा महिला उद्यमीहरूसँगको भेलामा समेत सहभागी हुने तय छ । उनी मंगलबार दिउँसो काठमाडौं फर्किने कार्यक्रम छ ।
एमालेभित्र बढ्दो असन्तोष
भण्डारीलाई निष्क्रिय बनाउन गरिएको निर्णय एमालेभित्रै प्रश्नको घेरामा परेको छ । विधान महाधिवेशनलाई लक्ष्य गरी प्रदेश कमिटी बैठकहरू भइरहेका बेला कोशीदेखि बागमती र कर्णालीसम्मै ‘भण्डारीलाई रोक्नु ठीक भएन’ भन्ने आवाज उठिरहेको छ ।
यही मेसोमा साउनको अन्तिम साता धनकुटाको हिलेमा सम्पन्न कोशी प्रदेशको बैठकमा त यसै विषयमा होहल्ला र नाराबाजीसमेत भएको थियो । प्रदेश सदस्य रोशन बस्नेत, डीबी कार्की, अञ्जु पाण्डे, भोजपुर अध्यक्ष मकर खड्कालगायतका भण्डारी पक्षधर नेताहरू अन्तरपार्टी निर्देशन (अपानि) को ६ नम्बर बुँदा सच्याउन माग गर्दै कडा रूपमा प्रस्तुत भए । सो बुँदामा ‘भण्डारीको सदस्यता नवीकरण नगर्ने’ उल्लेख छ ।
