पार्टी बैठकमा सरकारको अलोकतान्त्रिक चरित्र र जनताको असन्तुष्टिका विषयमा चर्चा भयो। बुधबार पुनः बैठक बस्ने निर्णय गरियो।
What you should know
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले सरकार झनझन अधिनायकवाद, तानाशाहतिर गइरहेको माओवादीको निष्कर्ष रहेको उल्लेख गर्दै सरकारको कामबाट जनता धेरै रुष्ट र आक्रोशित भएको बताए । उनले बैठक बुधबार १ बजे पुनः बस्ने पनि जानकारी दिए ।
बैठकले सरकार देश र जनताको हित विपरीत गलत कदम चालेर अघि बढिरहेको आरोप लगाएको छ। भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेको उनले आरोप लगाए ।
उनले बैठकको जानकारी दिँदै भने, ‘अहिलेको परिस्थितिबारे अध्यक्षज्यूले संक्षिप्त अपडेट गराउनुभयो। सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदैछ। राज्यका सबै संरचनामाथि तीव्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ। यो सरकारको नालायकी र कुशासनका कारण जनता असाध्यै रुष्ट र आक्रोशित छन्। यो सरकार देश र जनताको हित विपरीत गलत कदम चालेर अघि बढिरहेको छ। प्रतिनिधिसभाको उपसभामुखलाई हटाउन पहिला नै कोसिस गरिरहेका थिए, अहिले हस्ताक्षर नै गरिरहेको भन्दे खबर आएको छ। राष्ट्रिय जीवनका सबै क्षेत्रमा अधोगतितिर यो सरकार गइरहेको छ।'
पार्टी प्रवक्ता सापकोटाले सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले व्यवस्थामै असर परिरहेको बताए । व्यवस्था विरोधीलाई अवसर प्रदान गरेको जस्तो भइरहेको उनले बताए । उनले भने, 'यो परिस्थिति दिन प्रतिदिन जनताको हित विपरीत गइरहेको छ। भ्रष्टाचारमा कुरा गर्दा अरू पार्टीलाई छानी छानी अख्तियार लगाउने, जेल हाल्ने, आफ्नालाई हरेक तरिकाले बचाउने गरिरहेको छ। जनतालाई भ्रम पार्न सरकार तल्लीन भइरहेको छ।’
प्रवक्ता सापकोटाले सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले व्यवस्थामै असर परिरहेको जिकिर गरे ।
