चितवन एमालेको सुझाव- 'दोस्रो तहका नेताले नेतृत्व लिने आँट गर'

पार्टीमा पनि उमेर हद राख्दा उपयुक्त हुने सुझाव जिल्ला कमिटीका नेताहरुले दिएका छन् ।

भाद्र ३, २०८२

रमेशकुमार पौडेल

Chitwan UML's suggestion - 'Second level leaders dare to take leadership'

चितवन — नेकपा एमाले चितवन जिल्ला कार्यसमितिको सोमबार सम्पन्न बैठकले पार्टीको केन्द्रीय नेतृत्व लिन दोस्रो तहका नेताहरुले आँट गर्नुपर्ने सुझाव दिएको छ ।

भदौ २२ देखि २४ सम्म ललितपुर गोदावरीमा हुन लागेको एमालेको विधान अधिवेशनका लागि सुझाव दिनका लागि जिल्ला समितिको उक्त बैठक बसेको थियो । 

बैठकका निर्णयका बारेमा जानकारी दिँदै प्रचार विभाग प्रमुख प्रकाश आचार्यले राष्ट्रको सम्मानित व्यक्तिलाई संविधानले नै पार्टी राजनीति गर्न नपाउने प्रस्ट व्यवस्था गर्नुपर्ने सुझाव राखेको बताए । दुईपटक राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारी एमालेको नेतृत्व लिने गरी सक्रिय राजनीतिमा आउने कुराले एमाले पंक्ति विभाजित देखिन थालेको छ । केन्द्रीय समितिले भने यसमा रोक लगाइसकेको छ । 

‘राष्ट्रको सम्मानित व्यक्तिलाई संविधानले नै पार्टी राजनीति गर्न नपाउने प्रस्ट व्यवस्था गर्नुपर्ने र दोस्रो तहका नेताले नेतृत्व लिने गरी अगाडि बढे कोही पनि विवादित बन्नु नपर्ने कुरा बैठकमा उठेको छ,’ प्रचार विभाग प्रमुख आचार्यले भने । युवा र विद्यार्थीमा उमेरको हद राखिसकेपछि पार्टीमा पनि उमेर हद राख्दा राम्रो हुने सुझाव जिल्ला कमिटीका नेताहरुले दिएको उनले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully