गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

१२ जनामात्र उपस्थित हुँदा २६ सदस्यीय समितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

The Audit Committee meeting was adjourned after the quorum was not reached

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठक गणपूरक सङ्ख्या अपुग भएपछि स्थगित भएको छ ।

समितिका सचिव एकराम गिरीका अनुसार आजको बैठकमा १२ जना सांसद मात्रै उपस्थित थिए । कुल २६ जना सदस्य रहेको उक्त समितिमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुने व्यवस्था रहेको छ ।

आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो । मालवाहक सवारी साधनको भारबहन क्षमतासम्बन्धी विद्यमान कानूनी प्रावधान कार्यान्वयन तथा नियमन हुन नसकेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले समितिमा उजुरी गरेको थियो । 

मालबाहक सवारी साधनको भारवहनसम्बन्धी निर्देशिका, २०७४ ले निर्धारण गरेको मापदण्डभन्दा विपरीत वजन बोकेर सञ्चालन गर्दा पुल र सडकको अवस्था बिग्रेको तथा दुर्घटनाको जोखिम बढेको भन्दै समितिमा उजुरी परेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully