पार्टीको नीतिअनुसार यसपटक लुम्बिनीमा प्रादेशिक प्रशिक्षण आयोजना, २५० सहभागीको उपस्थिति रहनेछ।
What you should know
भैरहवा — संगठनलाई पालिकास्तरसम्म पुर्याउने लक्ष्यसहित रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार भैरहवामा सुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु प्रशिक्षण शनिबारसम्म सञ्चालन हुनेछ ।
प्रशिक्षण सुरु हुनुभन्दा पहिले आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सह–महान्त्री विपिनकुमार आचार्यले पार्टीको नीतिअनुसार प्रादेशिक प्रशिक्षण गर्नेक्रममा यसपटक लुम्बिनी रोजिएको जानकारी दिए ।
यसअघि बागमती र कोशी प्रदेशमा प्रशिक्षण कार्यक्रम भइसकेको जनाउँदै पार्टी संगठनलाई पालिकास्तरसम्म पुर्याउने उद्देश्यले यसपटक लुम्बिनीमा आयोजना गरिएको बताए । ‘रुपन्देही–३, को उपनिर्वाचनको सम्मुख प्रशिक्षण आयोजना संयोग मात्र हो,’उनले भने, ‘प्रदेश र केन्द्रका नेता/कार्यकर्ता भेला गर्न उपयुक्त स्थान भएकाले भैरहवा रोजिएको हो ।’
स्थापना भएको तीन वर्ष अवधिमा सदस्य वृद्धि हुँदै गएकाले पार्टीका आधिकारिक दस्तावेज, निती तथा कार्यक्रमका साथै केन्द्रका परिकल्पना भुईंतहसम्म जानकारी पुर्याउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आचार्यले जानकारी दिए ।
प्रदेशभरिका २ सय ५० जना सहभागी रहने प्रशिक्षणमा केन्द्रका संरचनाले दिनुपर्ने जानकारीका साथै तल्लोतहबाट केन्द्रसितका अपेक्षा संकलन गरिने उनले बताए । उनका अनुसार प्रशिक्षणको पहिलो दिन कार्यक्रमको औपचारिक सुरुवातका क्रममा रुपन्देही–३, को उप निर्वाचनका लागि उम्मेदवारको प्रारम्भिक सूचीमा रहेका ९ जनालाई परिचित तुल्याइनेछ ।
त्यसपछि कार्यवाहक सभापति डीपी अर्यालले प्रशिक्षणको उद्घाटन गर्नेछन् । लगत्तै पार्टीको ‘अर्थ राजनीतिक धार’, लुम्बिनीको आर्थिक विकासका आधारबारे उपसभापति स्वर्णिम वाग्लेले प्रशिक्षण दिनेछन् । पहिलो दिन केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टीको कल्पना गरेको सुशासन डेलिभरी, प्रवक्ता मनिष झाले पार्टी अभियान, केन्द्रीय सदस्य तोषिमा कार्कीले उम्मेदवारीको पूर्वतयारी र शुक्रबारको अन्तिम सेसनमा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले मिडिया, सामाजिक सञ्जाल र पार्टी विषयमा प्रशिक्षण दिने आचार्यले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले उपनिर्वाचनकेन्द्रित गरेर मात्र कार्यक्रम सञ्चालन नगरिरहेको बताए । उपनिर्वाचनका लागि एक जना उम्मेदवार छनौट गर्नुपर्ने भए पनि आगामी निर्वाचनका लागि मुलुकभर उम्मेदवारीका लागि ४ हजार जना सक्षम व्यक्ति आवश्यक भएकाले त्यही अनुसार संगठन विस्तार गरिरहेको बताए । ‘पार्टीमा स्पेस धेरै छ,’उनले भने, ‘त्यसैले परिवर्तनका पक्षधरहरू एक ठाउँमा आएर राम्रा मान्छे आबद्ध गराएर लैजान जरुरी छ ।’
असल व्यक्तिबीचको स्वस्थ्य प्रतिस्पर्धामा जोड दिएका कारण परिवर्तनका पक्षधर एकजुट हुन समस्या नरहेको उनले बताए । प्रशिक्षणमा पार्टीको गाउँपालिकास्तरका पदाधिकारीदेखि सदस्यसम्म सहभागी रहेको रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले जानकारी दिए ।
बन्द प्रशिक्षणमा प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी र प्रदेश विभागका सदस्यसमेत सहभागी रहेको उनले बताए ।
