पार्टीले मधेश आन्दोलनका सहिदहरूको सम्मानमा भइरहेको अमर्यादित कार्यको भर्त्सना गर्दै समान सम्मानको प्रतिबद्धता जनाएको छ।
काठमाडौँ — नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष अनिलकुमार झाले पार्टी पुनर्गठन गरी अघि बढेको बताएका हुन् ।
बुधबारमात्रै पार्टीको पुनःगठनलाई निर्वाचन आयोगले स्वीकृति दिएको थियो । आफ्नो पुरानो सैद्धान्तिक प्रतिबद्धता पूरा गर्नेगरी अघि बढ्ने झाले बताए । पार्टीले मधेश आन्दोलनका सहिदहरूको प्रतिमा स्थापना र सम्मान गर्नमा भइरहेको अशोभनीय र अमर्यादित कार्यको भर्त्सना गरेको छ ।
झाले मधेश आन्दोलनका सहिदहरूको अन्य आन्दोलनका सहिदसरह सम्मान स्थापित गराउन पार्टी प्रतिबद्ध रहेको बताए । सद्भावनाले हाल मधेशमा देखिएको भूमिगत जलको कमीप्रति गम्भीर हुन पनि सरकारलाई आग्रह गरेको छ । एकल महिला, वृद्धवृद्धाको जीवनयापन, आत्मसम्मान एवं स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनुपर्ने माग झाले गरे ।
