रास्वपाको आरोप : रविको निवेदन छानबिनका लागि न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीको कार्यकक्षमा लेखियो

सांसद कार्कीले गृहमन्त्रीले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई उदृत गर्दै गृहमन्त्रीले न्यायालयमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएकी छन्।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Allegation of RSVP: The complaint submitted to the Justice Council for investigation of Ravi's petition was written in the home minister's office

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले सार्वजनिक अभिव्यक्ति दिइसकेको उल्लेख गरिन् । उनले रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा न्याय परिषद्मा परेको उजुरी तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको समाचार सार्वजनिक भएको उल्लेख गरिन् ।

डा. कार्कीले न्याय परिषद्मा उजुरी दर्ता भएपछि स्वतन्त्र न्यायको सम्भावनाबारे प्रश्न उठाइन् । उनले भनिन्, ‘न्यायालयमा उनको हस्तक्षेपबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइसकेको छ । रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उनको सचिवालयबाट सबैतिर पठाइएको समाचार छरपस्ट छन् । पेसी चढेकै दिन यसरी न्याय परिषद्मा उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ, सभामुख महोदय ? कानुन जान्ने व्यक्तिले यस्तो कदम चाल्दा समाजमा के सन्देश जान्छ ? केही व्यक्तिहरुले मन्त्री र प्रधानमन्त्रीले समेत न्यायाधीशलाई फोन गरेको आरोप लगाएकै हुन्?’

कान्तिपुर

Link copied successfully