नेकपा एसकी केन्द्रीय सदस्य काफ्ले एमालेमा प्रवेश

लमहीमा सुरु भएको एमालेको लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा बुधबार काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन् ।

श्रावण २८, २०८२

दुर्गालाल केसी

Central members of CPN SK Kafle joined UML

दाङ — नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् ।

लमहीमा सुरु भएको एमालेको लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा बुधबार काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन् । रुपन्देहीकी काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन् ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका नेताहरूको सहभागिता थियो । प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा जारी बैठकमा मनोनीत सदस्यको सपथ, अन्तर पार्टी निर्देशन १२ अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, वार्षिक कार्ययोजना २०८१ को समीक्षा, वार्षिक कार्ययोजना २०८२ को प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीलगायत एजेन्डामा छलफल भइरहेको छ ।

बैठकमा जिल्ला कमिटी, सल्लाहकार कमिटी र विभिन्न विभागहरूको बैठकसम्बन्धी प्रस्तावहरू समेत रहेको प्रदेश अध्यक्ष कँडेलले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully