मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने समय घर्किँदै, १४ जना सांसद काठमाडौंमै

मुख्यमन्त्री बानियाँले मंगलबार ४ बजे विश्वासको मत लिने कार्यसूची रहेको छ ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

The time for Chief Minister Baniyan to take the vote of confidence is approaching, 14 MPs in Kathmandu

What you should know

काठमाडौँ — विश्वासको मत लिने समय घर्किँदै गर्दा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई हम्मेहम्मेको अवस्था देखिएको छ । बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले प्रदेश सभाको नयाँ भवनमा मंगलबार ४ बजे विश्वासको मत लिने कार्यसूची रहेको छ ।

पार्टीभित्रको विवादका कारण बहादुरसिंह लामा, कुन्दन काफ्ले र तीर्थ लामासहितका १४ जना सांसद काठमाडौंमा एकै ठाउँमा बसेका छन् । उनीहरुले तीन पटकसम्म कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट र छलफल समेत गरेका छन् ।

सांसद् कुन्दन काफ्लेले भने भने, 'यो राजनीतिक विषय हो । उहाँहरुबीच मिल्ने सम्भावना छ तर मिलिसकेको भने छैन । कुरा नमिलेसम्म हामी हेटौंडा आउँदैनौँ । विश्वासको मतको समय सार्ने/नसार्ने काम प्रदेशसभाको काम हो ।'

नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछाने भने 'बैठक सार्ने कुनै निर्णय नभएको र तोकिएको समयमै हुने' बताए ।

केन्द्रमा कांग्रेस र एमाले समीकरण बनेलगत्तै बागमतीमा पहिलो दुई वर्ष कांग्रेसले नेतृत्व लिने समझदारीअनुसार लामा एक वर्षअघि मुख्यमन्त्री नियुक्त भएका थिए । तर, पार्टीभित्रको आन्तरिक शक्तिसंघर्षमा लामालाई हटाइएपछि बाँकी अवधिका लागि बानियाँ मुख्यमन्त्री नियुक्ति भएका हुन् ।

बानियाँ नेतृत्वको समूहले लामालाई संसदीय दलको नेताबाट हटाएपछि उनले १८ साउनमा राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलको नेताबाट हटे पनि सुरुमा उनले मुख्यमन्त्री छाड्न आनाकानी गरेका थिए । संसदीय दलमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्रीको हैसियतले लामाले प्रदेशसभा सदस्यहरू गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन र माया श्रेष्ठ तथा गीता गुरुङलाई पछि मन्त्रालय तोक्ने गरी मन्त्री नियुक्ति गरेका थिए ।

१ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ । कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । कांग्रेसका १४ सांसदले जोखिम मोलेर विश्वासको मत नदिने निर्णयमा पुगे भने सरकारको पक्षमा ४७ मत मात्रै हुन्छ । यसले मुख्यमन्त्री बानियाँको पद नै धरापमा पर्नेछ ।

तर, प्रदेश प्रमुख राजधानीमा बसिदिँदा उनीहरूको शपथ रोकिएको थियो । पछि पार्टी सभापति शेरबहादुर देउवाले लामा र पार्टीका प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका बानियाँलाई आफ्नै निवासमा बोलाएर समझदारी गराएका थिए । त्यसपछि लामा राजीनामा दिन राजी भएका थिए । लामाका अनुसार पार्टी सभापति देउवाको रोहबरमा भएको छलफलमा आफूले नियुक्ति गरेका तर शपथ लिन नपाएका तीन मन्त्रीलाई निरन्तरता दिने समझदारी भएको थियो ।

बागमतीमा १४ मन्त्रालय छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले ६ मन्त्री नै सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई मन्त्री मात्रै पठाएको छ । कांग्रेसबाट मन्त्री हुनेमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र शिवराज अधिकारी छन् । अधिकारीको मन्त्रालय तोकिएको छैन । दुवै बानियाँ निकट हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully