माओवादी केन्द्र र एकीकृत समाजवादी निरन्तर संवाद

मंगलबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सहयोगी नेताहरुसहित ‘सम्बन्ध’ सुधारबारे छलफल भएको छ ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

The Maoist Center and the Integrated Socialist Continuous Dialogue

What you should know

काठमाडौँ — माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहकार्य बलियो बनाउन निरन्तर संवाद चलिरहेको छ । समाजवादी मोर्चामा रहेका यी दुई दलले सातै प्रदेशका इञ्चार्जसहित छलफललाई निरन्तरता दिएका छन् ।

मंगलबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सहयोगी नेताहरुसहित ‘सम्बन्ध’ सुधारबारे छलफल भएको छ । छलफलमा केन्द्रदेखि प्रदेश तहसम्म सहकार्यलाई बलियो बनाउने, त्यसका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउन निधो भएको छ ।

दाहाल र नेपालले दुवै दलका प्रदेश इञ्चार्जहरुबाट दुई दलको सहकार्य र पार्टी एकताका लागि आधार बन्न सक्ने/नसक्नेबारे धारणा बुझेका छन् । प्रदेश इञ्चार्जहरुले पहिलो चरणमा सहकार्य बलियो बनाएर पार्टी एकताको आधार बन्न सक्ने सुझाव दिएका छन् ।

बैठकमा सहभागी समाजवादी उपाध्यक्ष बेदुराम भुसालले पहिलो चरणमा दुई दलबीच सहकार्य बलियो बनाउनेबारे निरन्तर छलफल भएको बताए । ‘दुई दलबीच सम्बन्ध सुधारका लागि निरन्तर छलफल भइरहेको छ’, उनले भने, ‘सहकार्य गर्दै जाँदा बलियो आधार तयार भए पार्टी एकतासम्म जान सकिन्छ भन्ने कोणबाट कुराकानी भएको छ ।’

दुई दलका शीर्ष नेता दाहाल र नेपालले प्रदेशका इञ्चार्जसहित मधेशबाहेक छ प्रदेशको छुट्टाछुट्टै छलफल गरिसकेका छन् । ‘छ प्रदेशका इञ्चार्जसहित छलफल भइसकेको छ । पहिलो चरणमा सहकार्यलाई जोड दिन सुझाव छ । त्यसपछि पार्टी एकताको बाटोमा अघि जान सकिन्छ भन्ने छ,’ उनले भने, ‘प्रदेशअनुसार छलफल सकिएपछि अर्को चरणमा छलफल सुरु हुनेछ ।’

माओवादी सचिव देवेन्द्र पौडेलले दुई दलबीच संसद् र सडकमा कसरी सहकार्य गर्न सकिनेबारे कुराकानी भएको बताए । ‘अहिले पार्टी एकता गरिहाल्ने भन्ने होइन । दुई दलबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल हो,’ उनले भने ।

माओवादी र समाजवादीबीच गत साता समाजवादी केन्द्रीय कार्यालयमा यस्तै छलफल भएको थियो ।

कान्तिपुर

Link copied successfully