सहिदका अधुरा काम पूरा गर्नुपर्छ : देउवा

‘ज्यान बलिदान दिने साथीहरूको योगदानलाई बिर्सनु हुँदैन । उहाँहरूले छोडेका कामलाई पूरा गर्नुपर्छ र परिवारलाई पनि सम्मान दिनुपर्छ ।’

श्रावण २७, २०८२

सम्झना रसाइली

The incomplete work of martyrs should be completed: Deuba

तनहुँ — कांग्रेसका सभापति शेरबहादुर देउवाले सहिदका अधुका काम पूरा गर्नुपर्ने बताएका छन् ।

जिल्लाको भिमाद नगरपालिकामा मंगलबार आयोजित सहिद कल्याण खनालको २३औं स्मृतिसभा तथा सालिक अनावरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले सहिदहरुले सुरु गरेका अधुरा कार्यलाई अगाडि बढाउनु आजको जिम्मेबारी गरेको बताएका हुन् ।

‘हामीले सहिदको योगदान खेर जान दिनुहुन्न,’ उनले भने, ‘ज्यान बलिदान दिने साथीहरूको योगदानलाई बिर्सनु हुँदैन । उहाँहरूले छोडेका कामलाई पूरा गर्नुपर्छ र परिवारलाई पनि सम्मान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सहिदका परिवारलाई सम्मान र सहयोग आवश्यक रहेको समेत उल्लेख गरे । देउवाले कांग्रेसले सहिद परिवारलाई निरन्तर सहयोग गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि यसमा कमी नआउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘तनहुँ २००७ सालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएको र यहाँका नेताहरूले प्रजातन्त्र तथा गणतन्त्रका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।’

कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका कल्याण खनालको परिवारलाई पनि पार्टीतर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दोहोर्‍याएका थिए ।

सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले भिमाद नगरपालिका–७ शिवालयटोल प्रहरी चौकी नजिक सशस्त्र जनयुद्धको बेला माओवादी आक्रमणबाट ज्यान गुमाएका सहिद कल्याण खनालको अर्धकदको सालिक निर्माण गरेको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully