अध्यक्ष लिङ्देनले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा कांग्रेस–एमालेका कार्यकर्ताले आफ्नै पार्टी र उम्मेदवारलाई हराउन सके राजनीतिक सुधार महसुस गर्न सकिने बताए ।
तिलोत्तमा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कांग्रेस, एमालेलाई हराएर मुलुकमा सुधारको सन्देश दिनुपर्ने बताएका छन् ।
उनले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा कांग्रेस–एमालेका कार्यकर्ताले आफ्नै पार्टी र उम्मेदवारलाई हराउन सके राजनीतिक सुधार महसुस गर्न सकिने बताए ।
मंगलबार राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ क्षेत्रीय कमिटीले भैरहवामा गरेको भेलामा बोल्दै उनले आउँदो उपनिर्वाचनले कांग्रेस-एमाले गठबन्धन सरकारको क्रियाकलाप प्रस्टिने बताए । 'उपनिर्वाचन हुँदैछ । यो सिट कुनै पार्टीले जित्नु–नजित्नुमा केही फरक पर्दैन तर दुई दल मिलेर बनेको सरकारको क्रियाकलाप कस्तो रह्यो भन्नेबारे खुल्छ,' उनले भने, 'जनताका पक्षमा कस्ता काम भए ? प्रतिपक्षले कस्तो भूमिका खेले भन्ने परीक्षण यो निर्वाचनबाट हुन्छ,' उनले भने, 'यो ‘मिनी जनमतसंग्रह’ हो ।'
उनले तीन दशक सत्तामा रहेका यी दुई दल मिल्दा पनि मुलुकका लागि केही काम गर्न नसकेको, बरु भ्रष्टाचार मौलाएको आरोप लगाए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्र मान्छ कि, राजतन्त्र मान्छ ? धर्मनिरपेक्षता, संघीयता र व्यवस्थाप्रति उसको के धारणा छ ? भन्ने केही नछुट्टिएको बताए ।
