नयाँ संसद् भवनमा विगतका कमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले काम गरिररहेको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

संघीय संसद् भवन निर्माण कार्यतालिका सुनिश्चित गर्न सिंहदरबारमा छलफल, निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिइयो।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

The ministry is working to ensure that the shortcomings of the past are not repeated in the new parliament building: Acting Prime Minister Singh

What you should know

काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरी काम भइरहेको बताएका छन् ।

संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा आज भएको छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले समयमै काम सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिए । 

समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिए । थप गरिएको अवधिभित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय तथा विभागबाट अनुगमन भइरहेको उनले बताए ।

'नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार छौं । तोकिएको समयमा काम नगर्नेमाथि मन्त्रालयले कडाइ गरिरहेको छ । काम भइरहेको छ । संसद् भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ । सरकारले विगतका कमी, कमजोरीलाई नियालेर उक्त कमजोरी अब दोहोरिन नदिने गरी काम गरिररहेको छ,' उनले भने । काम समयमै सक्न मन्त्रालयदेखि सम्बन्धित इञ्जिनीयर, महानिर्देशक र आयोजना प्रमुखलाईसमेत बोलाएर निर्देशन दिइसकेको कार्यवाहक प्रधानमन्त्री सिंहले बताए ।

मन्त्रालयका सचिव गोपाल सिग्देलले गत वर्ष पुस दोस्रो साता सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर काम भइरहेको जानकारी दिए । आउने अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको उल्लेख गर्दै उनले  तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । समितिका सदस्यहरुले आउने अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्ने गरी काम सक्नुपर्नेमा जोड दिए  ।

कान्तिपुर

Link copied successfully