सरकार संसद्प्रति होइन, संसद् सरकारप्रति उत्तरदायी भयो : राप्रपा सांसद कार्की

सांसद कार्कीले संसदमा सरकारको उत्तरदायित्वमाथि प्रश्न उठाउँदै भिजिट भिसा दुरुपयोग प्रति गम्भीर नभएको आरोप लगाइन्।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

The government is not accountable to the parliament, but the parliament is accountable to the government: RP MP Karki

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसद्प्रति नभई संसद् सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद कार्कीले सरकार संसद्प्रति जबाफदेही बन्नुपर्नेमा हाल ठिक विपरीत अभ्यास भइरहेको बताइन् । उनले प्रश्न गरिन्, ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो?’

सांसद कार्कीले सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै आपत्ति जनाइन् । उनले आफूहरू भिजिट भिसाका विरोधी नभएको तर भिजिट भिसाको नाममा मानिसलाई मार्ने र बेच्ने कार्यको विरोधी भएको स्पष्ट गरिन् ।

उनले भनिन्, ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो? के हो यो? भिजिट भिसाको विरोधी हामी होइनौँ। तर भिजिट भिसाको नाममा मानिसलाई मार्ने र बेच्ने काम भएको छ, त्यसको विरोधी हौँ। हामीले भिजिट भिसा हुनु हुँदैन भनेर विरोध गरेका छैनौँ। आज हजारौँ दिदीबहिनीहरू वैदेशिक रोजगारीमा गएर बलात्कृत भएका छन्। हाम्रा दाजुभाइहरू बाकसमा फर्किएका छन्। आज दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन? भ्रष्टाचार त गर्‍यौ गर्‍यौ, देश त लुट्यौ, नेपालीलाई नमार। भिजिट भिसाको नाममा नेपालीलाई विदेशमा लगेर नबेच।’

सांसद कार्कीले भिजिट भिसाको दुरुपयोग सम्बन्धमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully