प्रतिनिधिसभामा सांसद श्रेष्ठले युवाहरूको रोजगारी र शिक्षाको खोजीमा विदेश पलायनको गम्भीरता बताउँदै संगठित भ्रष्टाचारले राज्यको प्रतिष्ठामा धब्बा लगाएको बताए।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटि मात्रै नभएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपाली युवाहरू भविष्यका कर्णधार भए पनि रोजगारी र शिक्षाको खोजीमा आशाको दियो लिएर बिदेसिन बाध्य भएको उल्लेख गरे। उनका अनुसार भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचारले युवाहरूको भविष्य मात्र नभई राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने काम गरेको छ।
सांसद श्रेष्ठले भने, 'नेपाली युवाहरू जो भविष्यका कर्णधार हुन्, रोजगारी र शिक्षाको खोजीमा आशाको दियो लिएर अवसरका लागि बिदेसिन बाध्य छन्। त्यही आशालाई ध्वस्त पार्दै राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने कार्य भएको छ भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचारबाट। यो केवल व्यक्तिगत भुल र प्रशासनिक त्रुटि होइन, राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनाबद्ध, दलाल संरचनाको कर्तुत हो। यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न आज प्रत्येक नेपालीको मनमा छ।’
उनले भिजिट भिसा प्रकरणबारे बनेको छानबिन समितिलाई ‘टालटुले समिति’ मात्र भएको टिप्पणी पनि गरे ।
